बर्दिबास हत्या प्रकरण : विद्यालय भर्ना भएको खुसीको खबर सुनाउन गएकी बालिका फेरि फर्किनन् – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बर्दिबास हत्या प्रकरण : विद्यालय भर्ना भएको खुसीको खबर सुनाउन गएकी बालिका फेरि फर्किनन्

    मा प्रकाशित

किरण कुमार कर्ण
मंसिर ९, बर्दिवास ।
पूर्व–पश्चिम राजमार्गमा पर्ने महोत्तरीको बर्दिबास नगरपालिकामा मिश्रित समाजको बसोबास छ । पहाडी र मधेशी समूदायका मानिसहरुको उत्तिकै बाहुल्यता रहेको बर्दिवासबासीले विभिन्न पटक भएका मधेश आन्दोलनमा समेत नतोडेको धैर्यता जब मंगलबार एक बालिकाको बलात्कारपछि हत्या भएको खवर सुने–तब उनीहरुको सहनशीलताको बाँध फुट्न पुग्यो ।

उनीहरु बालिकाको शव सडकमै राखेर प्रदर्शनमा उत्रिए । आक्रोशित स्थानीयले बलात्कारीलाई फाँसी सजायको माग गर्दै प्रदर्शन मात्रै गरेनन् आरोपितको घर र पसलमा आगजनी नै गर्न पुगे । जसका कारण मंगलबार दिनभर बर्दिवासको अवस्था तनावग्रस्त बन्न पुग्यो । आक्रोशमा पूर्वपश्चिम राजगमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका स्थानीयमाथि प्रहरीले हस्तक्षेप गर्न बाध्य भयो र गोली नै चलायो । प्रहरीको गोली लागेर ३ र लाठी चार्जबाट आधा दर्जन बढी घाइते भए ।

बर्जित शिक्षा र गुलाबसा सपना
बर्दिबास घटना भएको क्षेत्रका मुस्लिम समाजमा प्रायजसो महिलाहरु अध्ययन भन्दा टाढा रहन्छन् । उनीहरुमा विद्यालय शिक्षा भन्दा बढी मदर्सातर्फ रुची हुने गर्छ । अझ मुुस्लिम समाजमा छोरी चेलीका लागि शिक्षा बर्जित नै मानिन्छ । तर नगरपालिकाको नम्बर १४ स्थित शुभम् बस्तीका शहिद आलम आफ्नी ६ वर्षीया छोरी गुलबसा खातुनलाई विद्यालयमा पढाएर उदाहरणीय बन्न चाहन्थे समाजमा । यस्तो सपना बुनेका शहिदलाई काखकी छोरीको हत्या भएको कतिपनि विश्वास लागिरहेको छैन ।

आइतबार भर्ना सोमबार हत्या
कोरोना महामारीले लामो समयसम्म बन्द रहेका विद्यालय भर्खरै खुल्दै थिए । भर्खरै खुलेको एक निजी विद्यालयमा ६ वर्षीया बालिका खातुनको गत आइतबार मात्रै नामाकंन (भर्ना ) गरिएको थियो । कोरोनाका कारण ढिलै भएपनि विद्यालय भर्ना गर्न पाएकोमा अभिभावक खुसी नहुने कुरै थिएन । विद्यालय भर्ना भएपछि खुसीको खबर सुनाउन बालिका नजिकै रहेकी आफ्नी फुपू सेलिना खातुनको घर पुगेकी थिइन् ।
आफू युकेजीमा विद्यालय भर्ना भएको आफूलाई सुनाएको स्मरण गर्दै उनकी फुपु सेलिनाले भनिन्, ‘विद्यालय भर्ना भएकोमा धेरै खुसी थिइन् गुलबसा । उनको पढ्ने सपना पूरा नहुँदै चकनाचुर पारिदिए पापीहरुले ।’

चकलेट किन्न गइन्, फर्केर आइनन्
मंसिर ७ आइतवार गुलब युकेजीमा भर्ना भइन् । विद्यालय भर्ना भएकोमा उनीसहित परिवारका सदस्यमा खुसीयाली छाएको थियो । सोही जानकारी गराउन नजिकै रहेको फुपूको घर पुगेका बेला ‘सधै झैँ छेउमै रहेको अरुणको पसलमा सो दिन पनि गुलबसा चकलेट किन्न गइन्, तर फर्केर आइनन् । चकलेट किन्न पसल गएकी गुलबसा फर्केर नआएपछि उनलाई खोज्न सुरु गर्यौँ’ फुपु सेलिनाले  घटनाको बेलिविस्तार लगाइन् ।

टोलभरका छिमेकीदेखि सवैले गुलबसालाई पहिले उनको घरमै खोज्यो, छिमेकमा खोज्यो, रातभर खोजेपनि नभेटेपछि सोमबार बुवा शहीद आलम प्रहरीमा उजुरी दिन पुगे । फुपू सेलिनाका अनुसार आरोपी अरुण कुमार साहको घरमा खोजी गर्न जाँदा सुरुमा खोज्न दिएनन्, स्थानीयवासीको दवावपछि खोजी त भयो तर उनले घरमा राखेको सीसीटिभीको फुटेज भने हेर्न दिएनन् ।

प्रहरीमा उजुरी दिएपछि प्रहरीले पनि खोज्न थाल्यो । त्यही क्रममा आरोपी अरुणकुमार साहलाई पक्राउ गर्यो । पक्राउपछि आरोपित अरुणले हत्या गरेको स्वीकार्दै बालिकालाई बोरामा राखेर माटोमा पुरेको अवस्थामा प्रहरीले फेला पारेको गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

प्रहरीसँगको बयानमा अरुणले ‘चकलेट’ किन्न आएकी गुलबसालाई अपहरण गरेर हत्या गरी बोरामा बाँधेर शवलाई माटोमा गाडेर आफ्नो गाउँ गौशाला फर्केको बताएका छन् । उनको गौशाला र बर्दिबास दुबै ठाउँमा घर रहेको बताइएको छ ।

बालिकालाई बलात्कार गरे नगरेको भने पोष्टमार्टमपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । यद्यपि स्थानीयवासीले भने बलात्कारपछि हत्या आशंका गरेका छन् ।

‘हत्या गरेर फ्यालेको कुरा आरोपितले आफ्नो घरपरिवारमा समेत बताएका रहेछन् । पारिवारिक स्रोतबाटै हत्याको कुरा हामीकहाँ आयो र परिवारका सदस्यले नै उसलाई प्रहरी कार्यालयमा सोमवार राति १२ बजे बुझाए,’, अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ ।

 

अरुणको आपराधिक चरित्र
६ वर्षीया बालिका गुलबसा हत्याका आरोपीत अरुणको यो पहिलो घटना होइन । यसअघि पनि ज्यान मुद्दामा धरौटीमा रिहा भइसकेका हुन् उनी । गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार आरोपित अरुण यसअघि पनि हत्या आरोपमा पक्राउ परेर अदालतबाट धरौटीमा रिहा भएका व्यक्ति हुन् ।

‘लकडाउनका समयमा गत २०७७ वैशाख २८ आफ्नै साथी दिलिप ठाकुरको हत्या गरेको आरोपमा उनी पक्राउ परेका थिए’, प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।

प्रहरीका अनुसार अनुसन्धानपछि महोत्तरी जिल्ला अदालतमा मुद्दा चलाइएको थियो, तर उनी धरौटीमा रिहा भएका थिए । दिलीप र अरुण दुवै जना एकैसाथ रक्सी खाएका बेला आपसी विवादसँगै कुटाकुट भएको थियो ।

 

कुटाकुटका क्रममा एकअर्कामाथि ढुंगा प्रहार गर्दा अरुणले हानेको ढुंगाले दिलिपको मृत्यु भएको बताइएको छ । घटना पछि आरोपित अरुणलाई पक्राउ गरी कर्तव्य ज्यानको मुद्दा चलाइएको थियो । तर जिल्ला अदालतबाट उनी धरौटीमा रिहा भए ।

बलात्कारी हत्यारालाई फासी देँ !
बर्दिबासमा बालिका गुलाबसाको हत्या भएको खबर जानकारी पाउनासाथ रातिदेखि नै स्थानीयवासीहरु आक्रोशित बने । बिहानै आरोपित अरुणको बर्दिबास स्थित शुभम् वस्तीमा रहेको ३ तल्ले भवनमा रहेको पसल सहित आगो लगाएर जलाइदिए ।

 

आक्रोशित स्थानीयवासीले छोरी चेली हाम्रा इज्जत हुन् भन्दै इज्जतमाथि आघात पुर्याएको भन्दै दिनभर न्यायका लागि बर्दिबास सडक ठप्प पारे ।

बर्दिबास वडा नम्बर ५ का पवन ढकालले प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउको अभियान चलाइरहेका बेला छोरीचेलीमाथि यस्तो निन्दनीय घटना हुनु दुःखद रहेको भन्दै बलात्कारीलाई फासी दिने कानून बनाउन माग गरे ।

बर्दिबास नगरपालिकाकी कञ्चन खतिवडाले भनिन्,‘छोरी चेलीको इज्जत हाम्रो बर्दिबासको इज्जत हो, हाम्रो समाजको इज्जतमाथि खेलवाड गर्नेलाई समाजले मृत्यूदण्ड नै दिनुपर्छ ।’ रातोपाटीबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्