कनिका खबर
मंसिर ११, मुगु
मुगुमा ५ घर जलेर नष्ट भएका छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका–३ रोल गाउँमा आज दिउँसो अन्दाजी १२ बजे आगलागी हुँदा ५ घर जलेका हुन् । एक्कासि घरबाट सल्किएको आगोले रोल गाउँका हस्तबहादुर शाहीको ३ तले ४ कोठा भएको पक्की घर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने त्यस्तै होमबहादुर शाहीको पनि ३ तले ४ कोठा भएको पक्की घर, डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार खत्याड गाउपालिका वडा नं ३ सुनकौरा सिंहको दाहिने हात सामान्य रुपमा जलेको प्रहरी निरिक्षक नरेश विकले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागी के कति कारणले भएको हो खुल्न सकेको छैन । आगलागिबाट अन्दाजी २५ देखि ३० लाखसम्म क्षति भएको पनि उहाँले बताउनुभयो । श्रीकोट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्णु सेजुवालको नेतृत्वमा खटिएको टोली, रोल श्रीकोट र सैन गाउँका स्थानीयको सहभागितामा आगो नियन्त्रणमा आएको हो । आगलागीबाट धन सम्पत्ति, लत्ता कपडा, भाँडाकुँडा, काठका खटिया दराज जलेर नष्ट भएको छ ।


