कनिका खबर, मंसिर १४, काठमाडाैं
नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार९७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ५९६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
थप १४०४ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १२ हजार ५९० पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
४१४ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत
मन्त्रालयका अनुसार देशभर ४ सय १४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार ५३ जना भेन्टिलेटरमा र ३ सय ६१ जना संक्रमित आईसीयू उपचाररत छन्।
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ । जहाँ १३० जना आईसीयूमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा ७१ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४१ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा ५ आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ७ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १०० जना आईसीयूमा र १० जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
थप २५ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।