आलुमा आत्मनिर्भर बनाउन साढे नौ टन बीउ वितरण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आलुमा आत्मनिर्भर बनाउन साढे नौ टन बीउ वितरण

    मा प्रकाशित

आलुमा आत्मनिर्भर बनाउन तनहुँको व्यास नगरपालिकाले जिल्लाका विभिन्न कृषक समूहलाई आलुको बीउ वितरण गरेको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको हो ।

काभ्रेबाट जनकदेव र डिजिरे आलुको बीउ ल्याएर कृषक समूहमार्फत वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिए । निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न आलुको बीउ वितरण गरिएको वाग्लेले बताए ।

हरेक वर्ष बाहिरी जिल्लाबाट बीउ ल्याएर वितरण गर्नुभन्दा पनि नगरपालिकाभित्रै आलुको बीउ उत्पादनका लागि ११ वटा समूहलाई बीउ वितरण गरिएको उनले बताए । “सधैँ बाहिरी जिल्लाबाट ल्याएर वितरण गर्दा आत्मनिर्भर बनाउन सकिएन, अब नगरपालिकाभित्रै आलुको बीउ उत्पादन गर्ने र यहीँ उत्पादन भएको बीउ कृषकलाई वितरण गर्ने लक्ष्य छ”, उनले भने ।

नगरपालिकाले अहिले वितरण गरेको आलुको बीउ उत्पादन भएपछि पहिलो पटक बिक्री गर्न पाइँदैन । उत्पादित आलुलाई चिस्यान केन्द्रमा राखेर अर्को वर्ष मात्रै वितरणको तयारी गरिएको छ । “बीउका लागि उत्पादन भएको आलु पहिलो पटक खानका लागि प्रयोग हुँदैन, उक्त आलु नगर क्षेत्रभित्रका अन्य कृषकलाई वितरण गर्छौँ”, उनले भने ।

बीउ उत्पादनका लागि व्यास–५ स्थित सिन्धु सहकारी र हरियाली कृषक समूहलाई ३०÷३० क्विन्टल आलु वितरण गरिएको छ । हरियाली कृषक समूहका अध्यक्ष रविचन्द्र आचार्यले समूहमार्फत १० रोपनी क्षेत्रफलमा आलुको बीउ लगाउने तयारी गरिएको जानकारी दिए ।

“यसअघि सहकारीका सदस्यलाई मात्रै आलुको बीउ उत्पादन गर्ने गरेका थियौँ, अब अन्य कृषकलाई पनि लक्षित गरी आलुको बीउ उत्पादनका लागि नगरपालिकाले बीउ उपलब्ध गराएको छ”, उनले भने ।

नगरपालिकाले खाने आलु वितरणका लागि भने वडा कार्यालयलाई जिम्मा दिएको छ । कृषकलाई वितरणका लागि दुई पटकसम्म बोलपत्र आह्वान गरे पनि कसैले बोलपत्र नभरेका कारण वडा कार्यालयमार्फत नै आलुको बीउ वितरणको जिम्मा दिइएको कृषि शाखाले जनाएको छ । “वडा कार्यालयलाई आलुको बीउ वितरणका लागि पैसा पठाएका छौँ, वडा कार्यालयले आफैँले खरिद गरेर कृषकलाई वितरण गर्नेछन्”, वाग्लेले भने ।

नगरपालिकामा करिब ६०० रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन् । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्