सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज एक कार्यक्रमको आयोजना गरी उक्त बजारको उद्घाटन गर्नुभएको हो ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको हो । बाग्मती प्रदेशका ६ जिल्लाका १८ पालिकाका ७१ वटा सहकारीसँग यो कार्यक्रम सञ्चालित गरिएको छ ।
केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीबाट उत्पादित सामाग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको बताउनुभयो । अहिले उत्पादनको समस्या नरहेको भन्दै मन्त्री अर्यालले उत्पादित सामाग्रीको बजारीकरण प्रमुख चुनौतीको रुपमा रहेको बताउनुभयो ।
किसानले उत्पादन गरेको उत्पादित सामग्रीले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।