कनिका संवाददाता
जेठ ६, दाङ ।
विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण यतिबेला अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्र पनि प्रभावित भएको छ । अझ आर्थिक रुपमा संस्थागत विद्यालयहरु झन बढी प्रभावित हुने भएका छन् । यतिबेला शैक्षिक क्षेत्रमा देखिएका यस्ता समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा केन्द्रित रहेर प्याब्सन दाङले आज मङ्गलबार भर्चुअल भेला आयोजना गरेको हो ।
भेलालाई सम्बोधन गर्दै कोभिड १९ को महामारी पश्चात संस्थागत विद्यालयमा पर्ने असरलाई सम्बोधन गर्न विद्यालयहरु तयार रहनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
भेलालाई सम्बोधन गर्दै प्रमुख वक्ता केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँले देशभरका विद्यालय एकै साथ सञ्चालन हुने वातावरण बनाउन सरकारलाई अनुरोध गर्ने बताए । उनले भने, ‘‘ सरकारले जनक शिक्षा सामग्रीका किताब प्रकाशन र वितरण गरेर चोर बाटोबाट सामुदायिक विद्यालयलाई सञ्चालनमा एक कदम अगाडि व्यवस्थापन गर्न लागिरहेको छ । यो कदापि मान्य नहुने र सबैलाई समान रुपमा सम्बोधन गर्नका लागि दवाव दिन लाग्नुपर्छ ।’’ उनले थपे, ‘‘ शिक्षक कर्मचारीको पारिश्रमिक, विद्यालयबाट लिने शुल्कका सन्दर्भमा सबैको समान नीति बनाउन प्याब्सनले भूमिका निर्वाह गर्दछ । ’’
भेलालाई सम्बोधन गर्दै अर्का वक्ता केन्द्रीय प्याब्सनका सल्लाहकार नारायण अधिकारीले महामारीको असरपछि राज्यले ल्याउने नीतिहरुलाई अवलम्बन गरेर अगाडि बढ्ने बताए ।
भेलाले यथाशीघ्र दाङ जिल्लाको प्रिन्सिपल भेला राखेर आगामी रणनीति बनाउने निर्णय पनि गरेको छ ।
भेलालाई केन्द्रीय सदस्य यादव गिरी, केशव थापा, प्रदेश सल्लाहकार जीवन आचार्य, विनय कुमार मिश्र र प्याब्सन दाङका सल्लाहकार नवल जिएम, शरदकुमार शर्मा लगायतले सम्बोधन गरेका थिए । प्याब्सन दाङका अध्यक्ष रेशम बहादुर बुढाको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार नारायण अधिकारीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्ष मधुसुदन केसीको स्वागत मन्तव्य बाट सुरुभएको भेलाको सहजीकरण सचिव खगेश्वर पौडेलले गरेका थिए ।