कनिका संवाददाता
जेठ ७, दाङ ।
नेपालमा २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा थप ६ जना, कपिलवस्तुमा थप १३ जना, नवलपरासी पश्चिममा एक जना र धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार बाँकेका संक्रमित नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका ५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै कपिलवस्तुका संक्रमितहरु मध्ये तिन जना संक्रमित २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् भने १० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।
नवलपरासी पश्चिमका एक जनामा कोरोना संक्रमित सुस्ता गाउँपालिका ५ को बेलवानी क्वारेन्टाइनमा छन् ।
यसैगरी धनकुटामा ५ जनामा कोरोना संक्रमितहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।
थप ८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ४५ पुग्यो
कोशी अस्पताल विराटनगरमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ३ जना उदयपुरको भुल्केका वासिन्दा र ५ जना भारतीय जमाती हुन् ।
उनीहरु वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भई २९ देखि ३३ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
बुधबार डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
योसँगै नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।