लोकतन्त्रको गर्भबाट सर्वसत्तावादको जन्म ? – Kanika Khabar
Friday, May 17Nepali News Portal

लोकतन्त्रको गर्भबाट सर्वसत्तावादको जन्म ?

    मा प्रकाशित

निर्वाचनका निम्ति अनेक जटिलताको सामना गर्नुपर्ने स्थिति आउन सक्छ, संसद् विघटन अनिष्ट यात्राको प्रथम घुम्ती मात्र हो

देश पुनः संविधानको चीरहरण साथै अस्थिरता, अन्योल, अराजकता तथा राजनीतिक संकटबाट गुज्रिएको देखिन्छ । ठुल्ठूला सपनाको जगमा झन्डै दुईतिहाइको मत पाएको कम्युनिस्ट सरकार संवैधानिक सर्वोच्चता भंग गर्दै सर्वसत्तावादतिर उन्मुख छ । एकदलीय संस्कारबाट हुर्किएको कम्युनिस्ट नेतृत्वको सरकारलाई संविधान, संसद्, संसदीय व्यवस्था, लोकतन्त्र बाधक नै हुन्छ । सन् १९३३ मा हिटलरले जर्मनीमा तानाशाही शासन सुरु गर्दा जर्मन संसद् बुन्डेस्टागमा आगो लगाएर सांसदहरूलाई बन्धक बनाई सम्पूर्ण सत्ता हत्याएका थिए । १९१७ मा रुसमा लेनिनले जननिर्वाचित संविधानसभालाई बैठक बस्न नपाउँदै भंग गर्नुका साथै ‘सम्पूर्ण सत्ता सोभियतहरूलाई जिम्मा लगाऊ’ भन्ने हुकुमी आदेशका साथ रुसी संसद् ‘दुमा’मा हमला र कब्जा गरी सत्ता हत्याएका थिए । तसर्थ जननिर्वाचित संसद्को कोखबाट लोकतन्त्र विनाशक भस्मासुरको जन्म भएको ऐतिहासिक यथार्थतिर लोकतन्त्रवादीहरूले समयमै हेक्का राख्नु जरुरी छ ।

हाम्रो संसदीय वा प्रधानमन्त्रीय पद्धति हुबहु वेस्टमिन्स्टर शैलीको होइन । यहाँ बेलायतको जस्तो संसदीय सर्वोच्चता होइन, संवैधानिक सर्वोच्चता छ । संविधानसभाको संवैधानिक विवाद तथा समाधान समितिमा म पनि नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि थिएँ । तत्कालीन एमालेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री कि एमाओवादीको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भन्ने सवालको सम्झौतामा स्थिर सरकारका लागि संसद्ले सरकार दिन सक्ने अवस्थासम्म संसद् विघटन हुन नसक्ने र दुई वर्षसम्म अविश्वास प्रस्ताव राख्न नसक्ने प्रावधान राखिएको हो । संसदीय व्यवस्था भनेको सरकारको निर्माणकर्ता, निर्देशनकर्ता र विनिर्माणकर्ता भएकाले यसको सर्वोच्चतालाई कुण्ठित गर्न र खुम्च्याउन नहुने पक्षमा म थिएँ । तर खासगरी वामपन्थी साथीहरूकै जोडमा नै उक्त सहमति भएको हो ।

संसद् विघटनलाई कांग्रसले अवसरको रूपमा प्रयोग गर्नुपर्छ भन्ने मान्यता पनि देखिन्छ, सामान्यतः हेर्दा यो सोचाइ मनासिब नै हो । हामीलाई कति नाफा वा नोक्सान हुन्छ भन्ने विषय यो होइन । प्रश्न संविधान, विधिको शासन र लोकतान्त्रिक प्रक्रियाको हो । पछिल्लो जनादेश वा ताजा जनअभिमतबारे कांग्रेसलाई कुनै द्विविधा वा विवाद छैन, यो त झन् समयसापेक्ष हुने भएकाले कांग्रेस जनादेशका लागि जान हरबखत तयार छ । तर, हाम्रो निष्ठाले संविधानमाथिको आक्रमण, विधि र प्रक्रियामा भएको विध्वंसलाई स्वीकार गर्न सक्दैन । लोकतन्त्र विधि, पद्धति, मूल्य र संस्थागत प्रक्रियाबाट चल्छ । पद्धति, प्रक्रिया र प्रवृत्तिमा चल्दा मात्र लोकतन्त्र सार्थक हुन्छ । जब विधि र प्रक्रियामाथि आक्रमण हुन्छ, अनि लोकतन्त्र घाइते हुन्छ । आज यही स्थितिमा देश पुगेको छ ।

हामी संविधान, संवैधानिक प्रक्रिया र विधिसम्मत शासनविरुद्धको हमलामा मूकदर्शक हुनै सक्दैनौँ । तसर्थ यसविरुद्धको सशक्त आवाज र आन्दोलन हाम्रो ऐतिहासिक जिम्मेवारी हो । संविधान वा कानुन पालनाका विषय हुन्, निरंकुशता निषेधका उपाय हुन् । संविधानभन्दा माथि कोही छैन ।

नेपाली कांग्रेस तीन–तीनवटा लोकतान्त्रिक आन्दोलनको नेतृत्व, लामो हिंसात्मक द्वन्द्वको सहजकर्ता दल पनि हो । हामी संविधान, संवैधानिक प्रक्रिया र विधिसम्मत शासनविरुद्धको हमलामा मूकदर्शक हुनै सक्दैनौँ । तसर्थ यसविरुद्धको सशक्त आवाज र आन्दोलन हाम्रो ऐतिहासिक जिम्मेवारी हो ।

संविधान वा कानुन पालनाका विषय हुन्, निरंकुशता निषेधका उपाय हुन् । संविधानभन्दा माथि कोही छैन । संविधानको पालक लोकतान्त्रिक गणतन्त्रको सर्वोच्च र गरिमामय संस्था भएर आफ्नो मर्यादामा रहनुपर्ने राष्ट्रपतिका गतिविधिहरू सोअनुरूप भइरहेका छैनन् ।

गत निर्वाचनमा दुईतिहाइ बहुमतको मतादेश दिएका जनतामाथि नै कृतघ्नतापूर्वक धोका र कुठाराघात गर्दै कोरोना महामारी र प्राकृतिक प्रकोपबाट रुग्ण र थिलथिलो भएको मुलुकलाई थप पीडा दिने हर्कत भएको छ । शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणका सम्पूर्ण संवैधानिक अंगहरू ध्वस्त गर्दै सर्वसत्तावादी चिन्तन र लोकतन्त्रका आधारभूत अवयव, संयन्त्र र मान्यतामाथि निरन्तर प्रहार हुँदै आयो । तसर्थ समस्त लोकतन्त्रवादी शक्तिहरूको छाता स्वरूपमा नेपाली कांग्रेसले समन्वय र अभिभावकीय अगुवाइ गर्दै ठोस रणनीति र मार्गचित्र बनाउनु अनिवार्य छ । पार्टीको आन्तरिक विवाद र सत्ताको लिप्सामा राज्य–व्यवस्थालाई सिकार बनाउने र जनतालाई दण्ड दिने कम्युनिस्ट नेतृत्वको प्रवृत्तिले जनतामा आक्रोश व्याप्त छ ।

नेपाल आज आन्तरिक तथा बाह्य जटिलताको चक्रव्यूहतिर उन्मुख छ । दोस्रो विश्वयुद्धपछि तीव्र गतिमा बढेको शीतयुद्धको केन्द्र हाम्रै भूभागमा देखा पर्दै छ । दुई ठूला छिमेकीबीच बढ्दो कटुता र युद्धउन्मुख परिस्थितिका अनिवार्य असर छिमेकीको नाताले हामीकहाँ आइपुग्न सक्छ, यतातिर हामीले गम्भीर हुनु जरुरी छ । हाम्रो जस्तो मुलुकको अन्तर्राष्ट्रिय शक्ति, सामथ्र्य, दक्षता र प्रभावकारिता भन्नु नै कूटनीतिक निपुणता र सन्तुलन हो । तर, हाम्रो परराष्ट्र नीति यो संवेदनशीलता र यथार्थतालाई विश्लेषण गर्न असफल भएको देखिन्छ ।

यो सरकार गठन भएदेखि करिब १९ सय व्यक्तिले आत्महत्या गरेका छन् । बलात्कारका घटना, सुत्केरी अवस्थामा अलपत्र परेर वा खान नपाएर मरेकाहरूको संख्या हजारौँ भएको छ । नेकपाको सरकार तीन वर्षभरि सुशासन, सुख, समृद्धि, विकासका भाषणमा जनतालाई दिग्भ्रमित गरी शासकीय कुकृत्य, भ्रष्टाचार, दण्डहीनता मच्चाउनमै केन्द्रित रह्यो । कोरोना महामारी, प्राकृतिक प्रकोप–पीडित जनतालाई राहत तथा सेवामा समेत भ्रष्टाचारलाई प्रश्रय दिने र अस्तव्यस्तता बढाउने काम मात्र भयो ।

संवैधानिक अंगमा अवैध र अनैतिक नियुक्ति, जघन्य आर्थिक अपराधका अर्बौं भ्रष्टाचार काण्ड, एयरबस जेट खरिदमा भएको भ्रष्टाचार, ३३ किलो सुन, मूल नाइके सरकारी संरक्षणमै फरार, उखु र तरकारी किसानहरूको बिचल्ली, बिचौलिया हाबी तथा सरकारी प्रश्रय, चिकित्सा–शिक्षा ऐनमा माफियाको पृष्ठपोषण, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन, महँगी, बेरोजगारी, असुुरक्षा, बलात्कार तथा आपराधिक घटनालाई ढाकछोपमै सरकार मस्त रह्यो । यिनका समस्या सुन्ने र समाधान गर्नेतिर सरकारलाई फुर्सद नै भएन । ‘कृतापराधः स्वयमेव शंकते….।’ (अपराध गर्नेले मलाई अपराधी भन्लान् कि भन्ने ठानेर आफैँ शंका गर्छ) भनिए पनि अपराधको खातमाथि रहेर पनि सरकार अलिकति पनि झस्किएको देखिएन ।

विवादास्पद गुठी विधेयक, आपत्तिजनक अध्यादेश, यती होल्डिङ्ससँग अवाञ्छित सम्बन्धजस्ता अनेकौँ देश र जनताको हितका विषयलाई सदैव उपेक्षा गरेको देखियो । वर्षभरिका नेकपाका आन्तरिक विवाद र बैठकमा कुनै पक्षले पनि जनताका प्रत्यक्ष सरोकारका यस्ता मामिलालाई आफ्नो एजेन्डाको सूचीमा राखेको पाइएन । विगतमा लोकतन्त्र र संसदीय व्यवस्थाको विरोधी शक्तिका रूपमा चिनिएका दुई मुख्य कम्युनिस्ट पार्टीले संसदीय पद्धतिलाई आधारभूमि मानेर पार्टी–एकीकरणमा प्रतिबद्ध हुनुलाई हामीले संसदीय लोकतन्त्रको उपलब्धि र गौरव मानेका थियौँ र लोकतान्त्रिक संविधान कार्यान्वयन र स्थिरता कायम गरेको हेर्न आतुर पनि थियौँ । तर, हामीलाई मात्र होइन, यो एकताप्रति ठूलो आशा राखेर मत दिएका जनताका निम्ति गम्भीर धोका र अभिशाप सिद्ध भयो ।

आग्रह–पूर्वाग्रह र पक्ष–विपक्ष, गुट–उपगुटभन्दा माथि उठेर वर्तमान स्थितिलाई प्रयोग गर्दै सशक्त, जीवन्त र वैचारिक रूपबाट पार्टीलाई आगामी निर्वाचनमा पूर्ण बहुमतसहित पहिलो स्थानमा ल्याउन कृतसंकल्पित होऔँ । यो नै वर्तमान अवस्थामा हाम्रो मूल दायित्व हो ।

यो सबै परिस्थितिलाई ध्यान दिँदा आजको द्वन्द्वात्मक परिस्थिति र परिणाम निस्कनुमा मात्रात्मक रूपले फुटका दुवै घटक जिम्मेवार छन् । यो कुनै सैद्धान्तिक मतभेद होइन, नीतिगत फरक वा आफ्नो पार्टीको चुनावी घोषणापत्र कार्यान्वयनको क्रममा पैदा भएको बेमेल पनि देखिएन । प्रधानमन्त्री ओलीले भनेझैँ, ‘नेतृत्वको अतृप्त आकांक्षा’ देखिन्छ । त्यसैले दुवै पक्षसँग नेपाली कांग्रेसले समदूरी र समानताका साथै वैचारिक आधारमा व्यावहारिक नीति अपनाउनु उचित हुन्छ । सर्वदलीय छलफल, वैचारिक सहमति, कार्यमूलक सम्बन्ध हुन सक्छ, तर ती कारबाहीलाई कांग्रेसले आफ्नै आन्दोलनको रूपमा जनतामा लैजानुपर्छ । कसैसँग टाँस्सिएर होइन र यही आन्दोलनलाई नै निर्वाचनको आधार बनाउनुपर्छ । साथै कम्युनिस्टहरूसँग हाम्रो लामो यात्रामा फेरि एकचोटि हाम्रो सम्बन्धको पुनव्र्याख्या÷पुनर्विचार जरुरी छ ।

नेपाली कांग्रेस संविधान, संवैधानिक प्रक्रिया र संविधानवादमाथिको नांगो आक्रमणमा मूकदर्शक बन्न हुँदैन । तसर्थ सबै तहबाट यसको सशक्त विरोध गरिनुपर्छ । सरकारविरुद्धको आन्दोलनमा कम्युनिस्ट सत्ताको परिणाम र दृष्टान्त सशक्त रूपले जनस्तरमा उठाउनुपर्छ । हरेक तह र हाम्रा भातृसंस्थाहरूले दुवै नेकपाका अध्यक्षका लिखित आरोप–प्रत्यारोप (प्रतिवेदन) लाई आधार बनाएर देशव्यापी रूपबाट जनस्तरमा अलग्गै जानुपर्छ । यसले नै नेकपा सरकार र पार्टीको चित्र स्पष्ट पार्छ । तीन–तीनवटा जनक्रान्तिका साथै हिंसात्मक द्वन्द्वको सहजीकरण गर्दै आएको पार्टी ताजा जनादेशमा हरसमय तयार छ र तयार हुनैपर्छ । तर, घोषित मितिमा निर्वाचन हुन सक्ने सम्भावना क्षीण छ । निर्वाचनको निम्ति धेरै घुम्ती पार गर्दै अनेक जटिलता सामना गर्नुपर्ने स्थिति आउन सक्छ । संसद् विघटन अनिष्ट यात्राको प्रथम घुम्ती मात्र हो, तसर्थ जनस्तरमा यसको तयारी जनसंघर्ष नै हो ।

यो सबै जनताबीच संगठित रूपबाट संघर्ष र आवाज उठाउँदै जाँदा समयमै शान्तिपूर्ण र निष्पक्ष निर्वाचनको स्थिति बन्न सके त्यो उत्तम विकल्प हुन्छ नै ! हाम्रो आन्दोलन निर्वाचन तयारीको अभियान बन्न सक्छ, बनाउनुपर्छ । तर, घोषित मितिमा निर्वाचन हुन सक्छ ? जस्तोसुकै परिस्थिति भए पनि संघर्ष वा निर्वाचन कांग्रेसको सम्पूर्ण एकता र पार्टी विधानअनुसार हुनुपर्ने महाधिवेशन र यसको वैधानिक अस्तित्वरक्षा हाम्रो प्रथम जिम्मेवारी हो ।

आजको स्थितिले कांग्रेसमा मन, वचन र कर्मले सम्पूर्ण एकता आवश्यक र अनिवार्य बनाएको छ, तसर्थ हाम्रा सम्पूर्ण आन्तरिक मतभेदलाई स्थगित राख्नु जरुरी छ । कांग्रेस पुनर्जागरण र सशक्तीकरणको एउटा अवसरको रूपमा पनि यो आएको छ । कांगे्रसको विधानअनुसार फागुनभित्र महाधिवेशन भइसक्नुपर्ने स्थिति छ । एकातिर आन्दोलन र परिआए हालै घोषित निर्वाचनको तयारीमा जुट्नुपर्ने हुँदा हामीसँग कहाँ समय रहन्छ भन्ने हेक्का हुनु जरुरी छ । त्यसैले पार्टीको अस्तित्व, र वैधानिकताको रक्षा हाम्रो प्रथम र प्रमुख दायित्व भएको छ । यसका विकल्प के–के हुन सक्छन्, कुनै पूर्वाग्रह नराखी खुला हृदयले सोचौँ ।

मेरो विचारमा सहमतिमा तेह्रौँ महाधिवेशनका प्रतिनिधिहरूको विशेष अधिवेशनद्वारा पार्टीको वैधानिकतालाई पूर्णता दिऔँ । तदर्थ रूपबाट एक–दुई वर्षभित्रमा पार्टी विधानअनुसार नयाँ महाधिवेशन गरौँ । कांग्रेसमा त्यो परम्परा स्थापित पनि छ । २०१४ सालमा विराटनगरमा सम्पन्न विशेष अधिवेशन भएकै हो । आग्रह–पूर्वाग्रह र पक्ष–विपक्ष, गुट–उपगुटभन्दा माथि उठेर वर्तमान स्थितिलाई प्रयोग गर्दै सशक्त, जीवन्त र वैचारिक रूपबाट पार्टीलाई आगामी निर्वाचनमा पूर्ण बहुमतसहित पहिलो स्थानमा ल्याउन कृतसंकल्पित होऔँ । यो नै वर्तमान अवस्थामा हाम्रो मूल दायित्व हो ।

[email protected]

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्