कनिका डेस्क
दाङ,बैशाख ९ ।
शैक्षिक शत्र ०७६ को अन्त्यमा कोभिड १९ को असर बढ्दै गएपछि प्रभावित बनेका शिक्षालयहरु शैक्षिक शत्र ०७७ को सुरुआत भइसक्ने बेलासम्म पनि लगडाउनको प्रभावमा परेका छन् । शैक्षिक संस्थामा देखिएको यो असरभन्दा पनि एसइइ, ११ र १२ को परीक्षा प्रभावित मात्र भएनन् अन्यौलमा समेत परेका छन् ।
यतिबेला नयाँ भर्नाको चटारोको चिन्ता भन्दा पनि प्रभावित परीक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता सरकार तथा सरोकारवाला निकायहरुलाई परिरहेको छ । एकातिर शिक्षालय सञ्चालक, शिक्षक तथा नेतृत्व तहमा रहेका व्यक्तिहरु यसबारे चिन्तन गर्दै आएका छन् भने अर्कोतिर विद्यार्थी र अभिभावकहरुलाई परीक्षाको विषयले चिन्ता थोपर्दै लगेको छ । यस्तो अवस्थामा परीक्षाका सन्दर्भमा थुप्रै विचारहरुले बहस जन्माइरहेका छन् भने विज्ञहरुले पनि वैकल्पिक उपाय सरकारका सामु प्रस्ताव गर्दै आएका छन् ।
नयाँ कक्षा सञ्चालन र प्रभावित परीक्षाका परीक्षार्थीहरुलाई कसरी व्यवस्थापन गर्ने मुद्दा यतिबेलाको प्रमुख विषय हो । राजधानी लगायत विभिन्न स्थानमा यतिबेला इ भर्चुअलक्लास वैकल्पिक बन्दै गएको छ । यसै सन्दर्भमा दाङ जिल्लाका केही शिक्षालयहरुले गुगल कक्षा सञ्चालन गर्दै आएका छन् । साथै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन, प्याब्सन दाङले पनि इ भर्चुअलक्लासको गृहकार्य गरिरहेको छ ।
प्याब्सनका केन्द्रीय सदस्य तथा प्याब्सन दाङका प्रमुख सल्लाहकार यादव गिरीले कनिकासँग कुराकानी गर्दै भने, ‘‘अहिलेको विषम परिस्थितिमा हामी सबैले एकले अर्कालाई सहयोग गर्दै अघि बढ्नुको विकल्प रहेको छैन । शिक्षा क्षेत्र अलि संवेदनशील क्षेत्र हो । समाजका हरेक तह र तप्का यससँग जोडिएर रहने हुँदा चाहेर पनि यो क्षेत्र छिट्टै चलायमान हुन सक्ने अवस्था देखिदैन । यो परिवेशमा विद्यार्थीहरुलाई चलायमान बनाउदै विद्यार्थीहरुसँग जोडिने खालका कार्यक्रम विद्यालयहरुले ल्याउन आवश्यक देखिन्छ । यस्को उपयुक्त माध्ययम भनेकै इ–कक्षा हो । यद्यपि प्राविधिक जटिलताहरु होलान् । जटिलतालाई देखाएर पन्छिने भन्दा व्यवस्थापन गर्न तर्फ गएमा श्रेष्ठकर हुन्छ । ई–कक्षाका विभिन्न चरणहरु छन । विद्यार्थीलाई विषयवस्तुमा केन्द्रित गर्ने देखि प्रत्यक्ष छलफलमा लैजान समेत सकिन्छ ।’’ गिरीले थपे, ‘‘अहिलेको अवस्थामा स्मार्टफोन नभएकाहरु विरलै हुन्छन । यो अवस्थालाई सम्भावनामा परिवर्तन गर्दै विद्यार्थीहरुलाई चलायमान गराउन सक्नु पर्दछ । विद्यार्थीका लागि विद्यालययले गरेको न्याय पनि हुनजान्छ । प्याव्सन आफ्ना सदस्य विद्यालयहरुलाई समय र परिस्थितिको आँकलन गर्दै राज्यका नीति तथा नियमको पालना गर्दै आफ्ना शैक्षिक क्रियाकलापहरुमा प्रविधिको अधिकतम प्रयोग गरी अघि बढाउनका लागि आवश्यक्तानुसारको व्यवस्थापन विद्यालयमा गर्नु पर्दछ भन्ने मान्यता स्थापित गर्दै प्याब्सन अघि बढेको छ ।’’
यसै सन्दर्भ कनिकासँग कुराकानी गर्दै प्याब्सन दाङका अध्यक्ष रेशमबहादुर बुढाले भने, ‘अहिलेको विकल्प इ कक्षा नै हो, प्याब्सन दाङले सम्पूर्ण विद्यालयका विद्यार्थीहरुलाई समेट्ने गरी इ कक्षा सञ्चालनको तयारीमा छ, पहिलो चरणमा एसइइ, ११ र १२ का विद्यार्थीलाई लक्षित गरी कक्षा सञ्चालन गरिनेछ र विस्तारै आवश्यकताअनुसार अन्य कक्षाका पढाइ पनि सञ्चालन गरिदै लगिने छ । यसका लागि सम्पूर्ण सदस्य विद्यालयहरुले विद्यार्थीको पहुँचका लागि पहल गरिदिन समेत आग्रह गरिन्छ ।’’
जिल्लामा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको गोरखा ग्रुपद्वारा सञ्चालित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराही, गोरखा सेकेन्डरी स्कुल तुलसीपुर र गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीले कक्षा १०, ११ र १२ को गुगल कक्षा सञ्चालन गर्दै आएको छ । ग्रुपकाशैक्षिक निर्देशक दुर्गा के.सी. ले कनिका खबरसँग कुरा गर्दै भने ‘फोन र एन्ड्रोवाइड मोवाइलले काम गर्ने ठाउँमा यो प्रणाली निकै प्रभावकारी बनेको छ, यसका लागि इन्टरनेट त आवश्यक पर्छ नै ,तर विकल्पका रुपमा रोजिएको यो प्रणालीले शिक्षण सिकाइमा निकै सहजता ल्याएको छ ।’’ के.सी.ले थपे,‘‘सुरुमा त शिक्षक र विद्यार्थी अभ्यस्त नभएकाले गाह्रो भयो नै पछि भने निकै सजिलो भएको छ । अहिल गुगल क्लास रुम, मेसेन्जर र जिस्टी मिट एपबाट कक्षा सञ्चालन गरिरहेका छौँ, जसले विद्यार्थीका लागि सिकाइमा समस्या आएको छैन ।’’ ‘‘ यो विज्ञान र प्रविधिको युगमा शिक्षण सिकाइको फास्ट ट्रयाक रहेछ, आगामी दिनमा यसलाई निरुन्तर रुपमा अगाडि बढाउने सोंच छ ।’’ केसीले कनिकासँगको संवादमा भने ।
दाङको गुरुकुल एकेडेमीले पनि यतिबेला इ भर्चुअलकक्षा सञ्चालन गर्दै आएको छ । एकेडेमी कार्यवाहक प्रिन्सिपल मुकुन्द गिरीले कनिकासँगको संवादमा भने, ‘अहिले हामीले कक्षा ८, ९, १० र एसइइका विद्यार्थीलाई जुम एपका माध्यमबाट इ कक्षाबाट पठनपाठन गराइरहेका छौँ र यही हप्ताभित्र कक्षा २ देखि ७ सम्मका विद्यार्थीलाई समावेश गरेर इ कक्षा सञ्चालनमा ल्याउनेछौँ ।’’ गिरीले भने, ‘‘ यो निकै प्रभावकारी प्रणाली रहेछ आगामी दिनमा यसलाई निरन्तरता दिई शिक्षामा डिजिटल प्रविधिलाई प्राथमिकता दिने सोंच छ ।’’
दाङको तुलसीपुरस्थित हिमाल एकेडेमीले पनि इ कक्षा सञ्चालन गर्दै आएको छ । एकेडेमी प्रिन्सिपल मधुसुदन के.सी.ले कनिकाको संवादमा भने, ‘‘ हामीले अहिले एसइइ र ११ कक्षाको शिक्षणलाई इ भर्चुअल क्लासका रुपमा सञ्चालन गर्दै आएका छौँ, यो पद्धति निकै प्रभावकारी बनेको छ, आगामी शैक्षिक सत्रदेखि कक्षा ६ देखि १२ सम्मको पढाइलाई इ क्लासका रुपमा अगाडि बढाउने सोंचमा रहेका छौंँ ।’’
दाङको घोराहीस्थित लिटल एञ्जल इङ्लिस बोर्डिङ स्कुलले पनि इ क्लासको सुरुआत गरिसकेको छ । विद्यालयका सहायक प्रिन्सिपल विमल रोकाले कनिकासँगको कुराकानीमा भने,‘‘यतिबेला सबैभन्दा समस्या भनेको एसइइ का विद्यार्थीलाई भएको छ, मानसिक रुपमासमेत परीक्षाको तयारीमा बसेका विद्यार्थीको परीक्षा सुरु हुनुभन्दा केही घण्टा अघि मात्र परीक्षा स्थगित भएकाले परीक्षाको अन्यौल मात्र होइन मानसिक रुपमा समेत विचलित भएका छन् । हामीले विशेष गरेर एसइइका विद्यार्थीका लागि इ कक्षाको सुरुआत गरेका छौँ, यो निकै प्रभावकारी लागेको छ । आगामी दिनमा यस्ता कक्षालाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौँ । ’’
लकडाउनको समयमा अन्य तहसँगै सम्पूर्ण शिक्षालय पनि बन्द भएकोले वैकल्पिक शिक्षणका रुपमा इ कक्षा प्रभावकारी र लोकप्रिय बन्दै जान थालेको छ ।


