भारतीय मजदुरलाई सकस – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भारतीय मजदुरलाई सकस

    मा प्रकाशित

कनिका डेस्क
दाङ,वैशाख ६ ।

दाङका विभिन्न उद्योगहरुमा कार्यरत भारतीय मजदुरहरुले् लगडाउनको सकस भोगिरेहाका छन् । भारतबाट विशेष गरेर दाङका विभिन्न सिमेन्ट उद्योग तथा ईटा उद्योगमा काम गर्न आएका भारतीय मजदुरहरु अहिले समस्यामा परेका छन् ।

दाङको घोराहीस्थित जयमनकामना ईटा उद्योेगमा कार्यरत भारत बाबागञ्जका शोभाराम चौहानलाई १५ दिन घरदेखि फोन आयो ‘तिमी छोराको बाबु बन्यौ ।’ छोराको जन्म भएको खवरले औधि खुशी बनेका शोभारामले उद्योगमा कार्यरत मजदुरहरुलाई खुशियाली भोज दिए । तर यो शोभारामको यो खुशी १० दिनभन्दा बढी टिक्न पाएन । फेरि घरबाट फोन आयो ‘छोरा बित्यो ।’ छोरा बितेको खवरले अचेत बनेका शोभाराम घर फिर्न चाहे । तर कोरोना सङ्क्रमणको जोखिम हुन सक्ने भन्दै सरकारले गरेको लकडाउनका कारण उनी भारत छिर्न पाएनन् । ‘छोराको अनुहार पनि हेर्न पाएन,’ उनले भने ‘घर जान्छु भनेर कोसिस गरेँ, तर लकडाउनका कारण जान नपाईने भए पनि यहीँ बसिरहेको छु ।’ उनको छोरा बितेको ५ दिन भयो । छोरा गुम्नुको शोकमा शोभाराम निकै कमजोर बनिसकेका छन् । छिनछिन्मा बेहोस् भैरहन्छन् । उद्योगमा रहेका अन्य मजदुरहरुले सम्झाई बुझाई त गरिरहेकै छन् । तर पनि छोरा गुम्दा मनभित्र दन्किएको पीडाको आगो निभ्न सकेको छैन । ‘के गरी सम्झाउने ? जतिबेलै रुन्छन्,’ उद्योग प्रशासनका कर्मचारी शिबकुमार पौडेलले भने ‘खाना समेत खान मान्दैनन् ।’
शोभाराम चाहन्छन् जसरी पनि घर जान पाए हुन्थ्यो । ‘छोरा मरेको छ भन्दा पनि म जान पाएनँ,’ भावुक हुँदै उनले भने ‘मेरो परिवार पीडामा छ,मलाई केही गरी घरसम्म जान दिए त, मन केही हल्का हुन्थ्यो ।’ ईटा उद्योगका तर्फबाट उनलाई घर फर्काउनका लागि पहल भएको पनि हो । तर भारतसँगका सीमामा गरिएको नाकाबन्दी र लकडाउनका कारण उद्योगको त्यो पहल पनि सम्भव हुन पाएन ।
छोराको निधनको शोक त छँदैछ, उता श्रीमतीको गिर्दो स्वास्थ्य अवस्थाले शोभाराम झनै चिन्तित छन् । सुत्केरी श्रीमतीको अवस्था बारे सुनाउँदै उनले भने ‘खोई श्रीमतीलाई पनि भेट्न पाउँछु कि पाउँदैन ।’ उनका अनुसार श्रीमती पनि केही दिन यता थलिएकी छिन् । प्रसव पीडामाथि छोराको निधन हुनुले श्रीमतीलाई झनै असह्य पीडा थोपरेको छ । छोराको जस्तै अर्को अप्रिय खवर सुन्नु पर्छ कि भन्ने त्रासदीमा उनी छन् ।

झण्डै ५ हजार भारतीय मजदुर अलपत्र

जिल्लाका ईट्टा उद्योगहरुमा काम गर्ने झण्डै ५ हजार भारतीय मजदुरहरु लकडाउनका कारण अलपत्र परेका छन् । लकडाउनका कारण उद्योगको काम ठप्प छ । कामै रोकिएपछि उनीहरुको रोजीरोटी नै खोसिने अवस्थामा छ । अहिलेसम्म जेनतेन उद्योग प्रशासनले नै उनीहरुको खानपानको व्यवस्थापन गरेको भए पनि अबको केही दिनमै त्यो पनि नरहने उद्योगहरुले जनाईसकेका छन् । जिल्लाका ईट्टा उद्योगहरुमा कार्यरत भारतीय मजदुरहरु जति सक्यो चाँडै घर फर्कन चाहन्छन् । ‘खाने अन्न सकियो,उद्योग बन्द भइसके, हाम्रो आम्दानी पनि छैन,’ घोराही नारायणपुर स्थित ईटा उद्योगमा कार्यरत मजदुर विश्वनाथ चौहानले भने ‘हामीहरु जति सक्यो चाँडो घर फर्कन चाहन्छौँ ।’ लकडाउनको अवधि झनपछि झन लम्बिँदै जान थालेपछि आफूहरुलाई झनै समस्या बढ्दै गएको उनीहरुको भनाई छ ।

यति मात्रै हैन, ईटा उद्योगमा ठूलो संख्यामा भारतीय मजदुर रहेकाले गाउँमा समेत उनीहरुका कारण कोरोना संक्रमणको जोखिम बढेको स्थानीयहरु बताउँछन् । स्थानीयहरुले ईटा उद्योगमा काम गर्ने मजदुरहरु ब्यवस्थित भएर नबसेका कारण गाउँमा उनीहरुका कारण थप त्रास फैलिएको बताउँछन् । ‘यहाँ रहेका मजदुरहरु बाहिर खुला रुपमा हिँडिरहन्छन्,यसले गाउँमा थप त्रास फैलिएको छ,’ नारायणपुर बडहराका स्थानीय देवराज लामिछानेले भने ‘यी मजदुरहरुलाई सरकारले जति सक्यो चाँडो घर फर्कने ब्यवस्था मिलाइदिए धेरै राम्रो हुने थियो ।’
ईट्टा व्यवसायी समितिका अनुसार एउटा उद्योगमा दुई सयदेखि माथिको सङ्ख्यामा मजदुरहरु छन् । यी मध्य अधिकांश भारतीय हुन् । लकडाउनका कारण उनीहरु घर जान पाएका छैनन् । उद्योगको काम समेत रोकिएकाले उनीहरुको दैनिक रोजीरोटी समेत खोसिने अवस्थामा पुगिसकेको छ । ‘अहिलेसम्म हामीहरुले आँफैले यी मजदुरहरुको खानपानको व्यवस्थापन गरिरहेका छौँ,’ समितिका अध्यक्ष रोम ओलीले भने ‘लम्बिदो लकडाउनका कारण यति ठूलो सङ्ख्यामा रहेका मजदुरहरुलाई खानपानको व्यवस्थापन गर्न हामीहरुलाई पनि ठूलो चुनौती बनिरहेको छ,यसर्थ यी मजदुरहरुलाई जतिसक्यो चाँडो घर फर्कने व्यवस्थापन गरिदिए धेरै राम्रो हुने थियो ।’ उद्योगमा अलपत्र परेका यी मजदुरहरुलाई आफ्नै लगानीमा घर फर्काउने समेत व्यवसायीहरुको भनाई छ । ‘ईटा उद्योगको काम रोकिएपछि मजदुरहरुको अवस्था धेरै नाजुक बनिसकेको छ,’ अर्का व्यवसाय किरण रेग्मीले भने ‘यो समस्याबाट उनीहरुलाई राज्यले मुक्त गराउने पहल कदमी चालोस्, हामीहरु उनीहरुलाई घरसम्म पु¥याउने सम्पूर्ण जिम्मेवारी लिन्छौँ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्