कनिका संवाददाता
जेठ ९, काठमाडौँ ।
विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टाइन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । सहरी विकास मन्त्रालयमा हिजो भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए । उनका अनुसार हाल काठमाडौं उपत्यकामा ५ सय १८ शैया तयारी अवस्थामा छन् ।
देशभर भने करिब ६५ हजार क्वारेन्टाइन तयारी अवस्थामा रहेकोमा २५ हजार सर्वसाधारण क्वारेन्टाइनमा छन् । राज्यमन्त्री मानन्धरका अनुसार हाल खाली रहेका होटललाई निश्चित रकम तिरेर सरकारले जनताको जीवन रक्षाका लागि प्रयोग गर्न सक्ने छ । विदेशमा विपद्मा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गरी ल्याएको अवस्थामा काठमाडौँ उपत्यकामा आवश्यक क्वारेन्टाइका लागि पूर्वतयारी गरिएको बताउँदै उनले खाडी मुलुकमा श्रमका लागि गएका सर्वसाधारण सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे ।