यो ‘हिरोइज्म’ देखाउने अवसर – Kanika Khabar
Thursday, March 28Nepali News Portal

यो ‘हिरोइज्म’ देखाउने अवसर

    मा प्रकाशित

पार्टी अनुरुप आभिवादन
सम्पूर्ण नेतागण ।

विभिन्न कालखण्डहरुमा मानव जगतका लागि चुनौतिहरु अनेक रुप धारण गरेर आईरहेको हामी सबैमा बिदितै छ । चाहे त्यो वर्षेनी आउने बाढिपहिरोको रुपमा होस् वा झाडा पखालाको रुपमा होस् अथवा १९९० साल र २०७२ सालको भुकम्पको रुपमा होस् अथवा २०७६ सालको कोभिड १९ ( नोबेल कोरोना भाइरसको) रुपमा होस् निरन्तर यस्ता महामारीले नेपाली जगतलाई छियाछिया हुने गरी आक्रमण गरेको इतिहास र वर्तमान हाम्रा लागि छर्लङ्ग घाम जस्तै छ्न् । हरेक रुपमा देखापरेका समस्याहरुसँग जुध्न नेपाली जनताले देखाएको हिम्मत र सहनशीलताको तारिफ गर्नै पर्दछ । यसरी आम नेपाली जनताको विषयमा भन्नु पर्दा उनीहरुको देशप्रतिको त्याग, समर्पण र सहयोगको आँकलन गर्न कठिन छ । कोरोना भाइरसले निम्ताएको यस विषम परिस्थितिमा नेपाल सरकारले सम्पूर्ण निजी विद्यालयहरुलाई एक महिनाको शुल्क मिनाहा गर्ने र सम्पूर्ण घरबेटीहरुले एक महिनाको घर बहाल मिनाहा गर्नु पर्ने उद्घोष गरेर निक्कै अपरिपक्वता र अदूरदर्शीता कदम चालेको छ । यस्तो उद्घोष गर्नुको साटो देशका प्रत्येक भ्रष्टहरुको लिस्ट तयार पारेर नेपाली जनतासामु ल्याउने सहास देखाएको भए म लगायत आम नेपाली जनताले सरकारको जय जयकार गर्ने थिए । उनीहरुले कुम्ल्याएको अकुत कालो धन यो महामारीको समयमा उपयोग गर्ने हिम्मत गरेको भए नेपाली जनताले छाती खोलेर मेरो सरकार भन्ने थिए । कोरोना भाइरस ती भ्रष्टहरुलाई पनि अवसर बनी आएको छ । अहिलेसम्म भ्रष्टाचार गरी आर्जन गरेको सम्पूर्ण रकम दुखी पीडित नेपाली जनताका लागि खर्चेर आफ्नो पाप मेटाउने र जनताको नजरमा नेताको पहिचान बनाउने स्वर्णीम अवसर लिएर आएको छ । सायद यो विपतको समय उनीहरुको लागि परीक्षाको घडि हुन सक्दछ ।

सत्ता लोलुपतामा लागेर भ्रष्टाचारीहरुको संरक्षण गर्नु भन्दा देशको कला, संस्कृति, परम्परा, रीतिरिवाज, भाषा, भेषभुषा, अनि देशको सिमा संरक्षण गर्यौ भने भोलि आउने सन्ततिले तिम्रो काम अनि नाम मस्तिष्कमा बोकेर नेपाली हुनुमा गर्व गर्नेछ्न । फिल्मी दुनियाँमा हिरो सङ्कटको बेलामा मात्र चिनिन्छ । अघिपछि त सबै कलाकार उस्तै भूमिकामा प्रस्तुत हुने गर्द्छ्न । जब समस्याले गाँजेको हुन्छ त्यहाँ हिरो आएर समस्याको समाधान गर्ने गर्द्छ । हो ठिक त्यसैगरी हामीलाई अहिले हाम्रा गुमेका भूभाग फर्काएर ल्याउन नसके पनि देशको हिरो बनेर हाम्रो ‘हिरोइज्म’ देखाउने बेला आएको छ । आज राज्य हाँकिरहेका र भोलि राज्य हाँक्ने अवसर कुरेर बसिरहेका सम्पूर्ण नेता कार्यकर्ताहरुले आँट गर्ने बेला आएको छ । समस्याको यो कुरुक्षेत्रमा कृष्ण बनेर अर्जुनको साथ दिने, लङ्काको युद्धमा हनुमान बनेर मर्यादा पुरुष श्रीरामलाई साथ दिने अवसर कोरोना भाइरसको आक्रमणले हाम्रोसामु खडा गर्दिएको छ । राज्य हाँक्नेहरु र राज्य हाँक्ने सपना बोकेकाहरुलाई आफूलाई सच्चाएर नयाँ कदम चाल्ने मौका आएको छ । आफूलाई बदल्न नसके भावी सन्तानहरुको स्वाभिमानले धिक्कार्ने छ ।

पुर्खाले आफ्नो रगत अनि वलिदानी दिएर आर्जेको यो मुलुकको सिमानाको रक्षा गर्न नसक्ने आजका नेताहरुले राज्य ढुकुटीबाट लिने तलब भत्ता मात्र छोड्न सके भने मात्र यहाँ कुनै पनि स्कुलले शुल्क लिएर पढाउनु पर्ने स्थिति सृजना हुने छैन । ती नेताहरुले अनेकौ जुक्तिबाट अरबौको सम्पत्ति जोडेर नितान्त व्यक्तिगत र एकलौटी मोज मस्ती नगर्ने हो भने यहाँका कुनै नेपालीले घरबेटीलाई घर भाडा तिर्नु पर्ने हुने छैन । उनीहरुले आर्जेको पैसाले अहिलेका यी सम्पूर्ण संरचनाहरु राज्यले नै तयार गर्न सक्द्छ । अनि राज्यले जनतासँग हारगुहार नगरी ती घरहरुको बहाल लिने वा नलिने स्वनिर्णय गर्न सक्द्छ । तत्काल हामीले सामाना गरिरहेको स्थितिबाट नै यो पहल गर्न सके आम जनताले राज्य विहीनताको अनुभूत गर्न पर्ने थिएन । प्रत्येक पार्टीका प्रत्येक नेतालाई आफ्नो नाम सुनौलो अक्षरमा लेखाउने यो सुनौलो अवसर पनि हुने थियो ।

अर्को महत्त्वपूर्ण कुरा के छ भने सीमित व्यक्तिहरुको सुरक्षा कवचभित्र रहेका भ्रष्टाचारीहरुले भ्रष्टाचार गरेको पचास प्रतिशत मात्र रकम देशको शिक्षा र स्वास्थमा लगानी गर्ने हो भने कुनै पनि विद्यालय सञ्चालकहरुलाई एक दिनको पनि शुल्क मिनाहा गर्न अनुरोधै गर्नु पर्ने थिएन । भ्रष्टाचारको बाँकी पचास प्रतिशात देश विकासमा खर्चिने हो भने माथि उल्लेखित र भविष्यमा आईपर्ने हरेक चुनौति नेपालीहरुले आफ्नै बलबुताले सामना गर्न सक्षम हुनेछ्न । यदि हामी सब कार्यकर्ताहरुले सत्तासीन पार्टीलाई भन्दा आफ्नो पार्टीका नेताहरूलाई पलपल अनि पाइला पाइलामा खबरदारी गर्यौ भने स्वर्गभूमि नेपाल साँच्चिकै छिट्टै स्वर्ग बन्ने कुरामा दुईमत छैन । मैले बुझेको झिनो सत्य आखिर घुमीफिरि सत्ताको बागडोर सम्हाल्ने हाम्रै नेताहरु न हुन । त्यसैले अब कसैले कसैलाई दोषारोपण नगरी आफ्नै नेताहरुको कठालो समातेर अघि बढ्नुको विकल्प नभएको देख्द्छु । अहिल्यै, यही वखतबाट हामीले यो देशलाई स्वर्गभूमि बनाउने प्रण गराँै ।

नेपाल आमाको जय होस् ।
आम नेपालीको तर्फबाट !

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्