राजधानीका सडकमै निकृष्ट बालश्रम – Kanika Khabar
Sunday, May 19Nepali News Portal

राजधानीका सडकमै निकृष्ट बालश्रम

    मा प्रकाशित

प्रकाश धौलाकोटी
माघ १७, काठमाडौँ ।
निलो जिन्स ज्याकेटभित्र पहेँलो टिसर्ट । हिउँदे घाममा धुलो र चिसो छिचोलेका कलिला आँखा । चिटिक्क परेको मायालु एउटा अनुहार । दायाँ हातमा एउटा पानीको बोतल । ‘पानी ! पानी लिनुस् पानी ! पानी !’ उनी यसैगरी मान्छेको प्यास जगाउँछन्, पाँच रुपैयाँ कमाउनका लागि । ग्राहक खोज्दै सडकमा रोकिएका गाडीका झ्याल र ढोकाको वरिपरि कुदिरहन्छन् । २० रुपैयाँमा किनेको पानी २५ रुपैयाँमा बेचेर भोक टार्नु, मन लागेको खानु उनको दैनिकी हो । उनको फोटो हेर्दा अझै गहिरो दुःखको कथा उनका आँखाले भनिरहेझैँ लाग्छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा राखेको यो तस्बिर १० वर्षीय बालकको हो । कोटेश्वर चोकको ट्राफिक जाममा पानीको बोतल बोकेर झ्यालमा खडा भएका ती बालकले शर्मालाई पानी बेचे । शर्माले लेखेका छन्, ‘पानी किनिसकेपछि अनुमति मागेँ, बाबु तिम्रो फोटो खिचे हुन्छ ? उनले मुस्कुराएर हुन्छ भने ।’ हालै टेलिभिजन कार्यक्रम ‘ऐना’मार्फत नेपाली समाजको तस्बिर देखाइरहेका शर्माले तिनै बाबुको फोटो राखेर क्याप्सनमा लेखेका छन्, ‘यो तस्बिरको ऐनामा म आफ्नै अनुहार पढिरहेको छु, बालश्रम प्रतिबन्धित गर्ने कानुनका ठेलीहरू सम्झँदै ।’

कापी–किताब लिएर स्कुलको कक्षाकोठामा हुनुपर्ने ती बालक किन सडकमा असुरक्षित श्रम गर्दै छन् ? त्यसरी कमाएको दुई पैसाले के गर्दा हुन्् उनी ? यो उनको रहर होला कि बाध्यता ? अनि सडकमै श्रम गरिरहेका यी बालकलाई किन कसैले यो गर्नबाट रोकिरहेको छैन ? फोटो हेरेपछि थोरै सामाजिक चेत राख्ने आममानिसका मनमा यस्तै कुरा खेल्न थाल्छन् । शर्माले राखेको कोटेश्वरको यो चित्रले काठमाडौं उपत्यका मात्रै होइन, देशका अरू सहरहरूको पनि झल्को दिन्छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने थानकोट नाका आइनपुग्दै यस्तै दृश्यहरूले सहरको परिचय दिन्छन् । लाग्छ कि सहर र बालश्रम पर्याय नै हुन् । कोही एक्लै देखिन्छन्, त कोही झुन्डमा । कोही अभिभावकसँगै छेउमा बसेर श्रम गरिरहेका हुन्छन् । काठमाडौंका सडकमा चोकैपिच्छे बालबालिकाहरू श्रम गरिरहेका भेटिन्छन् ।

कानुनले १४ वर्षभन्दा मुनिका बालबालिकालाई कसैले पनि काममा लगाउन नपाइने भनेको छ । तर, कतिपय अभिभावकले आफ्ना नानीहरूलाई सँगै श्रम गर्न लिएर निस्किएका पाइन्छन् । कतिपयको घर र अभिभावक सबै सडक मात्रै हुन्छ । ती बालबालिका सडकमा कोही व्यापार गर्ने, माग्ने, होटेल–रेस्टुराँमा काम गर्ने गर्छन् । कोही भौतिक पूर्वाधार निर्माणमा ओसारपसार गर्ने, भारी बोक्ने, मनोरञ्जन क्षेत्र र यातायातका साधनहरूमा सहयोगीको काम गर्ने छन् । कतिपय भने लागुपदार्थ संकलन, बेचबिखन तथा ओसारपसारमा पनि प्रयोग भइरहेका हुन्छन् ।

सरकारले आर्थिक वर्ष ०७३÷७४ मै भनेको थियो, ‘बालबालिका सडकमा बस्नुपर्दैन, सडकमा बस्न हुँदैन ।’ चालू आर्थिक वर्षभित्रै सडक बालबालिकामुक्त घोषणा गर्ने सरकारी तयारी छ । तर, अहिले पनि सडकमै बस्ने, सडकमै श्रम गर्ने र सडकमै खाएर सडकमै रात कटाउने बालबालिकाको संख्या ठूलो छ । त्यस्ता बालबालिकाको संख्या सरकारसँग छैन । तर, काठमाडौंका चोकैपिच्छे ती बालबालिका डुलिरहेका भेटिन्छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०८२ सम्ममा सबै प्रकारका बालश्रम निवारण गर्ने उद्देश्यका साथ बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना ०७५–०८५ लागू गरेको छ । तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी महासन्धि १८२ को धारा ३ ले नेपालका लागि सात प्रकारका बालश्रमलाई निकृष्ट बालश्रमको सूचीमा राखेको छ । जसमध्ये घरेलु श्रम, भारी बोक्ने, सडक बालश्रम, बँधुवाश्रम, कोइला तथा अन्य खानीमा गरिने श्रम, इँटाभट्टाको श्रम र यौन तथा श्रमको निम्ति बेचबिखनमा परिने श्रम पर्छन् ।

राष्ट्रिय बालअधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दका अनुसार प्राकृतिक विपत्ति, सामाजिक विभेद, अपहेलना, हिंसा तथा शोषणमूलक व्यवहार, गरिबी, बेरोजगारी, शैक्षिक अवसरबाट वञ्चित भएर वा सहरप्रतिको आकर्षण तथा साथीभाइको लहैलहै र प्रलोभनमा फसेर ती बालबालिका सडकमा पुगिरहेका छन् ।

‘कतिपय अभिभावकको माया नपाएर र कतिपय अभिभावक गुमाएर सडकमा पुगेका हुन्छन् । त्यस्ता बालबालिकाको हामीले निरन्तर उद्धार गर्ने र संरक्षण गर्ने गर्दै आएका छौँ,’ चन्दले भने । तर, परिषद्ले उद्धार गरेर पुनर्मिलन गराएका कतिपय बालबालिका पुनः सडकमै आइपुगेका पनि छन् । ‘उद्धारपछि धेरैलाई परिवारसँग पुनर्मिलन गराइन्छ, कतिपय भागेर जान्छन्, तर अलि पछि उनीहरू नै फेरि सडकमै भेटिएका उदाहरण पनि छन्,’ चन्दले नयाँ पत्रिकासँग भने ।

बालबालिकाको स्थिति प्रतिवेदन, २०७७ अनुसार आर्थिक वर्ष ०७६÷७७ मा चार सय ६५ बालबालिकाको सडकबाट उद्धार गरिएको थियो । परिषद्ले त्यही वर्ष एक सय १७ जना बालबालिकालाई सडकबाट दोस्रोपटक उद्धार गरेको थियो । राष्ट्रिय जीवनस्तर सर्वेक्षण सन् २०११ ले १५ वर्षभन्दा कम उमेरका बालबालिकाको कुल जनसंख्याको झन्डै ११ प्रतिशत बालिबालिका परिवारभन्दा बाहिर रहेको देखाएको छ अर्थात् तीमध्ये अधिकांश बालबालिका कुनै न कुनै रूपमा सडककै आश्रयमा पुगेका छन् ।

केन्द्रीय तथ्यांक विभागको एक अध्ययनअनुसार गलैँचा उद्योग, ढुंगा खानीजस्ता क्षेत्रमा बालश्रम कम हुँदै गएको छ भने अन्य क्षेत्रमा बालश्रम बढेको छ । पाँचदेखि १७ वर्ष उमेर समूहका ३७.४ प्रतिशत बालबालिका बालश्रम गर्न बाध्य रहेको विभागको तथ्यांक छ । गरिबी, राजनीतिक अस्थिरता, बेरोजगारी, अर्ध–बेरोजगारीका साथै सहरी क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा बालश्रम बढेको सरोकारवाला दाबी गर्छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार हाल विश्वमा १५ करोड २० लाख बालबालिका श्रममा छन् । त्यसमध्ये सात करोड ३० लाख बालबालिका जोखिमयुक्त श्रममा रहेका छन् ।

नेपालको संविधानले बालबालिकालाई कलकारखाना, खानी वा जोखिमपूर्ण काममा लगाउन बन्देज गर्दै जोखिममा रहेका बालबालिकालाई विशेष संरक्षण र बालश्रम तथा श्रम शोषणका सबै रूपको अन्त्य गरेको छ । श्रम ऐन, २०७४ ले श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्ने उद्देश्यका साथ कसैले पनि बालबालिकालाई कानुनविपरीत हुने गरी काममा लगाउन नपाइने व्यवस्था गरेको छ ।

सडकबाट उद्धार गरिएका बालबालिका

०७२/७३ : २०३ (बालक १७५, बालिका २८)
०७३/७४  : ४९० (बालक ४३२, बालिका ५८)
०७४/७५ : १८० (बालक १७७, बालिका ३)
०७५/७६ : १३८ (बालक ११९, बालिका १९)
०७६/७७ : ४६५ (बालक ८७ बालिका ३७८)

नयाँपत्रिकाबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्