माघ २२, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज देशभर आम हड्ताल गरेको छ । सरकारले संवैधानिक पदहरूमा गैरकानुनी रुपमा नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलनको घोषणा गर्दै प्रचण्ड–नेपाल समूहले आज आम हड्ताल गरेको हो ।
आज आमहड्ताल गरेको प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् । आम हड्तालको प्रभाव काठमाडौं उपत्यकामा बिहानैदेखि देखिन थालेको छ । बिहानैदेखि प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।
उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा पक्राउ परेका छन् भने कलंकीबाट नेतृ अष्ठलक्ष्मी शाक्यसहित दर्जनौं नेता कार्यकर्ता पक्राउ परेका छन् ।यसैबीच, उपत्यकाका विभिन्न ठाउँमा बन्द गर्दै हिँडेका अन्दोलनकारी र प्रहरीबीच मुठभेढ भएको छ । अनेरास्ववियूका संयोजक रञ्जित तामाङका अनुसार हालसम्म पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठनका संयोजक रामप्रसाद सापकोटा दीपशिखा, रमेश मल्ल तिलक भण्डारीसहित दजनौं नेतारकार्यकर्तालाई प्रहरीले गिराफ्तार गरेको छ ।
नेकपाको आन्दोलनलाई ध्यानमा राखी गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाउँदै चोक चोकमा प्रहरी परिचालन गरेको छ । सरकारले संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढङ्गलेसंसदीय सुनुवाई बिनै शपथ गराएपछि प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले आन्दोलनको कार्यक्रम थप सशक्त गर्ने निर्णय गरेको हो ।


