म्यान्मार कू: लगातार दोस्रो दिन हजारौँ मानिस सडक प्रदर्शनमा – Kanika Khabar
Sunday, October 18Nepali News Portal

म्यान्मार कू: लगातार दोस्रो दिन हजारौँ मानिस सडक प्रदर्शनमा

    मा प्रकाशित

माघ २५, काठमाडौँ ।

म्यान्मार प्रदर्शन

गत सोमवार म्यान्मारमा भएको सैन्य कूपश्चात् लगातार दोस्रो दिन हजारौँ मानिसहरू विरोध प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन्।

मुख्य शहर याङ्गोनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोधमा अनि प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन्।

प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ्ग सान सू चीको नेशनल लिग फर डिमोक्रेसी दलको रातो झन्डा तथा बेलुनहरू बोकेका थिए।

सोमवार सैन्य नेतृत्वले सत्ता कब्जा गरे लगत्तैदेखि नेतृ सू चीको अवस्था अज्ञात छ।

शहरको अवस्था के छ?

दङ्गा नियन्त्रणका लागि आवश्यक बन्दोबस्तीका साथ उत्रिएका प्रहरीहरूले शहरको केन्द्र भागमा जाने बाटाहरू छेकेका छन्।

एउटा पर्यवेक्षक समूह नेटब्लक्सक इन्टरनेट अब्जरभेटरीका अनुसार म्यान्मारमा अहिल इन्टरनेट लगभग पूर्ण अवरुद्ध पारिएको छ।

सामान्य समयको तुलनामा त्यहाँ कनेक्टीभिटी केवल १६ प्रतिशतमा झारिएको उसले जनाएको छ।

मानिसहरूलाई विरोध प्रदर्शनमा भेला हुनबाट रोक्न सेनाले ट्विटर तथा इन्स्टाग्राममा पहिले पहुँच रोकिदिएको थियो। फेसबुक त झन् एक दिन अगाडिदेखि नै बन्द गराइएको थियो।

म्यान्मार प्रदर्शन

इन्टरनेट बन्द

कैयन् प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धबाट उम्कन भर्चुअल प्राइभेट नेटवर्क भीपीएनको उपयोग गरेका थिए।

तर इन्टरनेटमा आमनिषेध गरिएपछि भीपीएनको प्रयोग समेत निकै प्रभावित भएको छ।

नागरिक समाजका सङ्गठनहरूले इन्टरनेट सेवा प्रदायक तथा मोबाइल नेटवर्कहरूलाई इन्टरनेट बन्द गराउने आदेशलाई चुनौती दिन आह्वान गरिरहेको रोयटर्स समाचार एजेन्सीले जनाएको छ।

मानव अधिकार समूह एमनेस्टी इन्टरनेशनलले इन्टरनेट बन्द गराउने कार्यलाई ‘कठोर अनि लापरबाहीपूर्ण’ भन्दै त्यसले म्यान्मारका मानिसहरूलाई मानव अधिकार हनन् हुने जोखिममा पार्ने चेतावनी दिएको छ।

सेनाको प्रतिक्रिया के छ?

सेनाले कुनै प्रतिक्रिया दिएको छैन।

शनिवार बिहानैदेखि कारखानाका मजदुर एवम् विद्यार्थी सहितका प्रदर्शनकारीहरूले सेनाले हिरासतमा राखेका सू चीलगायत अन्यलाई रिहा गर्न माग गरेका थिए।

याङ्गोन शहरमा उनीहरूले प्रदर्शन गरिरहँदा नगर बसहरूले हर्न बजाएर समर्थन जनाएका थिए।

सडकमा रहेका अन्य मानिसहरूले पनि प्रदर्शनकारीहरूप्रति समर्थन जनाएका थिए भने मानिसहरूले आफ्नो घरघरमा ताली बजाएर तथा भाँडा ठटाएका थिए।

कतिपय घरहरूमा सू चीको दलको समर्थनमा रातो स्टिकर टाँसेको देखिएको बीबीसी बर्मिजका सम्पादक सो विन थानले जनाएका छन्।बीबीसीबाट

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्