आज संसदमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश हुँदै – Kanika Khabar
Saturday, May 17Nepali News Portal

आज संसदमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश हुँदै

    मा प्रकाशित

कनिका डेस्क
जेठ १४, दाङ ।

संविधान संशोधन प्रस्ताव आज संसदमा पेश हुँदैछ । दिउँसो २ बजे बस्ने बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अद्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । संविधान संशोधन विधेयक यही जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएको थियो । त्यसअघि मन्त्रिपरिषद बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग आफ्नो भएको दावी गर्दै भारतले कब्जा गरेको छ । तर, ऐतिहासिक तथ्य र प्रमाणमा ती भूभागहरु नेपालकै हुन् । नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । यसमा पहिलो संशोधन सोही वर्ष असोज १० गते भएको थियो ।

यसअघि हिजो बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न दलहरुलाई आग्रह गर्नुभएको छ । उहाँले लम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पारित गर्न दलहरुलाई आग्रह गर्नुभएको हो । तर, बैठकमा सहभागि प्रमुख विपक्षी नेपाली काँग्रेसले केन्द्रीय कार्य समिति बैठक बस्नुपर्ने भन्दै केही समय मागेको छ भने समाजवादी र राष्ट्रिय जनता पार्टीले आफ्ना माग पनि समेट्न आग्रह गरेका छन् । बालुवाटारमा भएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवाले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्नो पार्टी तयार रहेको तर पदाधिकारी बैठकले केन्द्रीय कार्य समिति बैठकमा छलफल गर्ने भनेकाले केही समय दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । यस्तै बैठकमा सहभागि मधेशवादी दलका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई लगायतले संविधान संशोधन गर्दा मधेस र आदिवासी जनजातिका माग पनि सम्बोधन पनि समेट्न सरकारलाई सुझाव दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्