कनिका संवाददाता
जेठ १५, दाङ ।
आज नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १२ वर्ष पूरा भएको छ । राजतन्त्रको अन्त्य भएको र मुलुक गणतन्त्रमा प्रवेश गरेको दिनका रुपमा आजको दिनलाई लिइन्छ ।
जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।
यसैबिच गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै ८ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी पनि गरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् ।