आज १३ औं गणतन्त्र दिवस, दीपावली गरेर मनाउन सरकारको आह्वान – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आज १३ औं गणतन्त्र दिवस, दीपावली गरेर मनाउन सरकारको आह्वान

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १५, दाङ ।

आज १३ औं गणतन्त्र दिवस, नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको दिन । नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भई १३ औं वर्षमा प्रवेश गरेको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले यो दिवस मनाउँदै छन् । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर, यस वर्ष भने कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोहको आयोजना गरिएको छैन । सरकारले विश्वव्यापी महामारीलाई ध्यानमा राखि दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका संघर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उहाँले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वानसमेत गर्नुभएको छ । उहाँले नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आएपनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले नोवेल कोरोना भाइरसको संक्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने सवै नेपालीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गणतन्त्र दिवसको शुभकामना दिनुभएको छ । उहाँले शुभकामना सन्देश जारी गर्दै लामो सङ्क्रमणको अन्त्यसँगै आर्थिक, सामाजीक लगायतका क्षेत्रमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो । यसअघि लगातार औसत ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुनु, निरपेक्ष गरिबीमा निरन्तर कमी आउनु र सुशासन, शान्ति, व्यवसायिक वातावरणजस्ता महत्वपूर्ण विश्व सूचकहरुमा उल्लेख्य सुधार आउनुले हामी सही दिशातिर अगाडि बढिरहेको स्पष्ट हुन्छ भन्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी सुरु हुनु पूर्वका सूचकहरु अत्यन्त उत्साहवद्र्धक रहेको उल्लेख गर्नुभयो । जनताको सेवा र विकास निर्माणका लागि सङ्घीय संरचनाका तीनै तहबीच समन्वय कायम गर्र्दै अगाडि बढ्ने काम भएको पनि उहाँको भनाइ छ । यसैगरी, दिवसको अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले नयाँ संविधानमार्फत् हामीले गणतन्त्रलाई संस्थागत गर्ने कार्य सम्पन्न गरेको भन्दै गणतन्त्र सँगसँगै नयाँ संविधानमा संघीयता र धर्मनिरपेक्षता पनि सुनिश्चित गरिएको र जसको व्यवहारिक अभ्यास भइरहेको बताउनुभएको छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले अब हामीले हरेक नेपाली जनताको जीवनस्तर माथि उठाउनु पर्ने दायित्वमा दत्तचित्त भएर लाग्नु पर्ने उल्लेख गर्नुभयो । गणतन्त्र स्थापनाका गौरवशाली १२ वर्ष पूरा हुँदै गर्दा हामी कोभिड–१९ महामारीबाट उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न बाध्य रहेको भन्दै सभामुख सापकोटाले एकातिर महामारीबाट जनताको जीवनरक्षाको सवाल र अर्कोतिर बन्दाबन्दी अर्थात् लकडाउनका कारण उत्पन्न आर्थिक विषमतालाई पार गरेर अघि बढ्नुपर्ने बताउनुभयो । यसबैची, गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी पनि गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय मिनाहा र दण्ड जरिवाना माफी दिनुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्