कनिका डेस्क
जेठ २०, दाङ ।
संसदको कानुन न्याय तथा मानवअधिकार समितिले नेपाल प्रहरीमा दलित सेल खोल्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले नेपाल प्रहरीभित्र दलित सेल खोल्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।
दलित समुदायमाथि हुने विभेद तथा घटनाको छानबिन गर्न उक्त सेल खोल्न निर्देशन दिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी समितिले रुकुम घटनामा बेपत्ता भएकाको खोजी तीव्र पार्न र घाइतेको निस्शुल्क उपचार गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी युवतीसँग जाजरकोटका नवराज विकले विवाह गर्नका लागि जाँदा केटी पक्षकाले युवाहरूलाई मारेर भेरी नदीमा फालेका थिए । तीमध्ये ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् ।
साथै घटनाका दोषीलाई निष्पक्ष तरिकाले कानुनी कारबाही अगाडि बढाउन समितिले भनेको छ । समितिमा उपस्थति गृहमन्त्री रामबहादुर थापाले रुकुम घटनाको छानबिन प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले छानबिन समितिले अनुसन्धान गरिरहेको जानकारी दिनुभएको हो । प्रहरी घटना स्थलमा ढिला पुगेको भन्दै गृहमन्त्री थापाले कमजोरी पाइए विभागीय कारबाही हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त घटनाको स्थानीय, प्रदेश र केन्द्रबाट भइरहेको छानबिन अन्तिम चरण पुगेको गृहमन्त्री थापाको भनाइ छ । बैठकमा उपस्थित भएर महान्यायाधिवक्ता अग्नि खरेलले रुकुम घटनामा न्याय गरिने बताउनुभएको छ ।
खरेलले भन्नुभयो, यो मुद्दालाई बिग्रिन दिइन्नँ, एउटा ठूलो समुदायले यसमा हाम्रो कामको निगरानी गरिरहेको छ । न्यायको आशा गरिरहेका छन्, यसमा न्याय गरिन्छ । उहाँले राजनीतिक वा अन्य प्रभावबाट अनुसन्धानलाई प्रभावित हुन नदिने पनि बताउनुभयो ।
बैठकमा प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले घटनाको निष्पक्ष छानविन भइरहेको बताउनुभयो ।