आज माता तीर्थ औंसी – Kanika Khabar
Friday, September 29Nepali News Portal

आज माता तीर्थ औंसी

    मा प्रकाशित

कनिका डेस्क

बैशाख ११, दाङ ।

आज मातातीर्थ औँसी, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशीर्वाद लिदै मनाइएको छ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो । यो अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशीर्वाद लिने प्रचलन रहिआएको छ । यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने पनि गर्दछन् । दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीमा काठमाडौँको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

श्री स्वस्थानी व्रतकथाअनुसार यस तीर्थमा सतीदेवीको अङ्ग पतन भइ मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । उक्त स्थानमा शास्त्रीय विधिबाट गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास गरिन्छ । प्रचलित किंवदन्तीमा भगवान विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो । उहाँलाई अपरिचित र नौलो देखेर स्थानीयवासीले आक्रमण गरे । उनीहरूबीचको घमासान युद्धका कारण दुवै पक्ष आकुल व्याकुल बन्न पुगे । उक्त समयमा सीतालाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान श्रीरामले ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै गङ्गाजीको स्तुति गर्दै तीनपटक मन्त्र उच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बनेको भनाई छ । त्यहाँ सीताले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुङ्गाको मूर्तीमा कोरिन पुग्यो । किंवदन्तीअनुसार उक्त समयमा त्यहाँ घना जङ्गल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नराखी कुण्ड भएतिर मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने बेलामा गोठालोले एक्लै फर्किन नमानी आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैँ वैशाख औँसीको दिन यो तीर्थमा आउनु भन्ने वाचाका साथ छोरालाई सम्झाएर फर्काइन्छन् । त्यसै बेलादेखि यस ठाउँको नाम मातातीर्थ रहेको हो । यसै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्