तुलसीपुर उपमहानगरको नीति कार्यक्रम : नियमित उडानदेखि खुल्ला सरकार – Kanika Khabar
Saturday, July 12Nepali News Portal

तुलसीपुर उपमहानगरको नीति कार्यक्रम : नियमित उडानदेखि खुल्ला सरकार

    मा प्रकाशित

तुलसीपुर, ५ असार ।

तुलसीपुर उपमहानगरपालिकाले नयाँ आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको समग्र विकास, आत्मनिर्भर, समाजवाद उन्मुख, सुन्दर र नमूना शहर बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । उपमहानगरको ९औं नगरसभामा नगर प्रमुख घनश्याम पाण्डेले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उपमहानगरको नीति कार्यक्रम ३८७ बुँदामा समेटिएको छ ।

कृषि उत्पादन बढाउन दक्ष जनशक्ति सेवा (बीमा, तालिम, बीउबिजन) र पूर्वाधारको विकास तथा विस्तार, कृषि बिद्युत मिटर प्रयोग गरी सिचाई गर्ने कृषकहरुलाई फागुनदेखि जेठसम्मको बिद्युत महशुल १०० प्रतिशत छुट गरी मकै, घाँस र बेमौसमी खेतीलाई प्रबद्र्धन गरिने उल्लेख छ । प्रत्येक वडामा कृषि तथा पशु सेवा इकाई स्थापना गरी एक वडा एक प्राबिधिकको व्यवस्था गरिने उल्लेख छ ।

‘पशुपंक्षीको नश्ल सुधार आम्दानी र रोजगारीको आधार’ भन्ने अभियानअन्तर्गत नश्ल सुधारका लागि कृतिम गर्भाधारण कार्यक्रमलाई निःशुल्क र प्रभावकारी बनाउने र पशु उपचारका लागि आवश्यक औषधिहरु निःशुल्करुपमा उपलब्ध गराउने नीति कार्यक्रममा छ । कृषकसँग पशु स्वास्थ्यकर्मी स्थलगत भेटघाट कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । त्यसैगरेर आगामी बर्षमा सडक, शिक्षा, सिचाई, खानेपानी, विद्युतलाई प्राथमिकता दिइएको छ ।

नीति तथा कार्यक्रममा बिमानस्थललाई स्तरोन्नति गर्दै नियमित हवाई उडान सञ्चालन गर्ने र यस बिमानस्थलमा अन्तर्राष्ट्रियस्तरको पाइलट शिक्षण गर्ने अन्तर्राष्ट्रियस्तरको एभियसन कलेज सार्वजनिक र निजी सहकार्यमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेदेखि बेलझुण्डी ट्विन टावर निर्माण गर्ने उल्लेख छ ।

नीति तथा कार्यक्रममा २५ बर्षे दीर्घकालीन रणनीतिक योजनाले दिशाबोध गरेका स्मार्ट सिटी, जनशक्ति विकास केन्द्र स्थापना, सामुदायिक पुस्तकालय, मनमोहन गणेशमान विज्ञान तथा प्रविधि क्याम्पस, मेडिकल कलेज सञ्चालन, बाल अस्पताल सञ्चालन, मेट्रो हस्पिटल सञ्चालन, ज्येष्ठ नागरिक अस्पताल, क्रान्ति संग्रहालय, स्पोर्ट सिटी, तुलसीपुर चक्रपथ, पर्यटकीय गन्तव्यको शहर, औद्योगिक ग्राम, बेलझुण्डी ट्विन टावर, स्मार्ट स्याटेलाइट शहर र मेट्रो रेल सञ्चालनका काम सार्वजनिक, निजी साझेदारीका माध्यमबाट सम्पन्न गरिने उल्लेख छ ।

नगर प्रमुख पाण्डे प्रस्तुत गरेको कार्यक्रमा छिल्लीकोट केबलकार स्थापनाका लागि अध्ययन भैसकेकोले यसैबर्ष यसको डिपिआर तयार गरिने कोरोना महामारीले सिकाएको पाठलाई मध्यनजरगरी आगामी बर्ष स्वास्थ्य सेवा, समृद्धिको लक्ष्य, आर्थिक र सामाजिक पुनर्लाभ, शिक्षा, कृषि, तथा पशु सेवा, खानेपानीमा प्राथमिकता साथ बजेट व्यवस्था गरिने बताए । त्यस्तै विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्यलाई चुस्त–दुरुस्त बनाउँदै खोज, उद्धार, परिचालन, पुनर्लाभ, सूचना प्रणाली व्यवस्थापनजस्ता कार्यहरुलाई तत्काल सञ्चालन गरी जनधनको क्षतिलाई न्यूनीकरण गरिने, आधुनिक तथा व्यावसायिक कृषि तथा पशुपालनका माध्यमबाट खाद्य सुरक्षाको सुनिश्चितता र पर्यापर्यटनको विकास गरी आर्थिक बृद्धि तथा रोजगार सिर्जना गरिने नीति कार्यक्रम ल्याएको छ ।

त्यसैगरेर खुल्ला सरकार कार्यक्रमको अवधारणाअनुसार कार्य गरिने उल्लेख छ । उपमहानगरपालिकाले सञ्चालन गर्ने सबै कार्यक्रम, नीति, खर्च सार्वजनिक गरिने र नियमित सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गर्ने व्यवस्था मिलाइने नीति कार्यक्रममा राखिएको छ । आधारभूत तथा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी सेवामा न्यायोचित पहुँच एवं लक्षित वर्गको सशक्तीकरण गरी समावेशी तथा समतामूलक नगर निर्माण गरिने, सडक, पुल, विद्युत, सञ्चारको योजनावद्ध विकाससहितको व्यवस्थित बस्ती विकास र यातायातमा सहजता ल्याई स्मार्ट शहरको रुपमा तुलसीपुरको विकास गरिने र वन, जैविक, जलाधार, विपद् जोखिम न्यूनीकरण, जलवायु अनुकूलन तथा फोहरमैलाको समुचित व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गरी विपद् उत्थानशील समाजको निर्माण गरिनेछ ।
आगामी बर्ष बजेटलाई लक्ष्य, उद्देश्य र परिणाममुखी बनाइने र साना–साना टुक्रे आयोजनामा भन्दा ठूला, बहुबर्षीय आयोजनामा बजेट व्यवस्था प्राथमिकता दिइने मुुख्य नीति तथा कार्यक्रम पेश गरिएको छ । भूउपयोग नीति निर्माण गरी जग्गाको बर्गीकरण गरी कृषि उत्पादनको पकेट क्षेत्र निर्धारणलाई निरन्तरता दिइने, उन्नत बीउबिजन उत्पादनका लागि बीउबिजन उत्पादन केन्द्रको स्थापना गरिने, जग्गा बाँझो नराख्ने नीतिलाई निरन्तरता दिँदै बाँझो खेतीयोग्य जमिनमा खेती प्रणाली बिस्तार गर्न भूमि बैंकको प्रक्रियालाई अघि बढाइनुका साथै नगर क्षेत्रमा माटो परीक्षणको प्रयोगशाला स्थापना गरी माटो अनुकूल खेती प्रणालीलाई विविधिकरण गरी कृषि उत्पादनको बृद्धि गरिनेछ ।

हरियो घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा बर्षे÷हिउँदे घाँसको बीउ उपलब्ध गराउने कार्यक्रम ल्याइने छ । विश्वव्यापी कोभिड–१९ को महामारीको कारणले रोजगारी गुमाएका व्यक्तिहरुलाई उनीहरुको योग्यता, सीप, क्षमता र अनुभवको आधारमा वर्गीकरण गरी प्रधानमन्त्री रोजगार कार्यक्रमसँग समन्वय गरी रोजगार उपलब्ध गराइने नीति पनि ल्याएको छ । शिक्षामा कोभिड माहामारीले गर्दा अफ्ठेरोमा परेका संस्थागत विद्यालयहरुलाई लक्षित गरी उपमहानगरपालिकाले लिने ब्यावसायिक तथा नवीकरण शुल्क र घरभाडा करमा सहुलियतका लागि पहल गरिने र प्रत्येक सामुदायिक विद्यालयमा एक बिद्यालय–एक स्वास्थ्यकर्मीको व्यवस्था गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

स्वास्थ्य तथा पोषणतर्फ अति विपन्न परिवारलाई तुलसीपुर उपमहानगरपालिकाभित्रको हस्पिटल तथा स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइने छ भने सबैलाई स्वास्थ्य बीमा गर्न प्रोत्साहित गरिने छ । स्वास्थ्य बीमा गर्ने परिवारलाई राजश्वमा १० प्रतिशत छुट दिइने छ । ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिकालाई तुलसीपुर उपमहानगरपालिकाभित्र एम्बुलेन्स सेवा निःशुल्क र सरकारी अस्पतालमा उपचार निःशुल्क गरिनेछ । साथै पालिकालाई निःशुल्क शल्यक्रियाका माध्यमबाट १ वर्षभित्र मोतिविन्दुमुक्त समाजको रुपमा रुपान्तरण गरिने छ ।

त्यस्तै वन तथा वातावरणतर्फ पालिकास्तरमा निजी, सहकारी, समुदाय र सरकारको साझेदारीमा ठूला वन उद्यम सञ्चालन गरी काठ, दाउरा, फर्निचर, जडिबुटीजन्य उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम बनाई लागू गरिनेछ । ‘एक सामुदायिक वन एक वन उद्यान, एक पानी पोखरी’ अभियान सञ्चालन गरी पर्यापर्यटनमा टेवा पुग्ने काम गर्ने उल्लेख छ । त्यसैगरेर सञ्चारमाध्यमलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिइने, नेपाल पत्रकार महासंघसँगको सहकार्यमा पत्रकारहरुको क्षमता विकास, लेखनबृत्ति र पत्रकारिताको प्रवद्र्धनसम्बन्धी बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ उल्लेख छ ।

खोज र अनुसन्धानमूलक पत्रकारितालाई प्रोत्साहन गरिने, रेडियो तथा टेलिभिजनबाट प्रशारित कार्यक्रमहरुलाई निरन्तरता दिइने, आमसञ्चारका माध्यमहरुको सहकार्यमा सचेतनामूलक सामग्री प्रकाशन र प्रसारणमा जोड दिइने उल्लेख छ । सम्पादकीय नीति, मानव संशाधन नीति बनाई लागू गर्ने सञ्चार माध्यमहरुलाई प्रोत्साहन गरिने, नगरस्तरमा सुविधा सम्पन्न मिडिया सेन्टर स्थापना गरिने र सबै वडा र नगरपालिका क्षेत्रभित्र इन्टरनेटको सेवालाई प्रभावकारी बनाइने उल्लेख छ । पालिकालाई अझ बढी जवाफदेही र उत्तरदायी बनाउन तथा आम नागरिक र स्थानीय सरकारका बीचमा दोहोरो सम्वाद स्थापित गर्न हेलो मेयर, टोल फ्रि हटलाईन, जनतासँग मेयर आदि कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्