कनिका डेस्क
जेठ २५, दाङ ।
दाङका एक व्यक्ति कोरोना भाइरसले मृत्यु भएको पुष्टि भएको छ। उनको मृत्यु भारतमा भएको हो ।
घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरका अन्दाजी ४० वर्षीय व्यक्तिको मृत्युपछि आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो।
उनको मृत्यु ३ दिन अगाडि दिल्लीमा भएको र अन्तिम संस्कारका लागि दाङ ल्याइएको हो । मृत्यु पश्चात गरीने अन्तिम संस्कारका लागि ल्याइयपनि आशंका लागेर स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।
मृतकको शव आइतबार विहान ६ बजेतिर घोराही ल्याइएको थियो । रिपोर्ट नआएकाले गाडीसहित मृतकको शव कटुवा खोलामा पार्किङ गरेर राखिएको थियो। अहिले रिपोर्ट आइसकेको छ । अव शव व्यवस्थापनको लागि नेपाली सेनाले तयारी थालेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।
प्रेसर तथा दमको विरामी भएको उनी मजदुरीको सिलसिलामा भारतमा पुगेको आफन्तले बताएका छन्।
शव ल्याएर दाङ आएका एक जना आफन्तलाई क्वारेन्टिनमा राखिएको प्रअिज रिजालले बताए ।