भदौ ५ दाङ ।
नयाँ पार्टी गठनमा माधव नेपाललाई साथ नदिएका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी ओलीले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयन नगरे बिद्रोह हुने बताएका छन् ।
हिजो बसेको ५७ जना नेताहरुको बैठकले ओली सहमतिप्रति इमान्दार नभएमा एकताको बाटो बन्द हुने निश्कर्ष निकालेको थियो । १० बुँदेको अक्षरस पालना भएमा माधव नेपाललाई समेत पुनर्विचार गर्न दबाब पुग्ने उनीहरुको तर्क छ । बैठकमा बोल्नेहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता गर्न ढिलो भएको समेत धारणा राखेका थिए।जेठ २ को अवस्थाका कमिटीहरु ब्युँताउने र कारबाही फिर्ता लिने हो भने नेपालसँग गएका नेताहरुसमेत फर्किन सक्ने कतिपय केन्द्रीय सदस्यहरुको दाबी थियो ।
तर ओलीले इमान्दारिता नदेखाएमा भने बिद्रोह हुने र माधव नेपालको पक्षमा जानेको सङ्ख्या ठूलो हुने उनीहरुको तर्क छ।बैठकमा कार्यदलका सदस्यहरुले पार्टी एकता अझै पनि सम्भव रहेको ब्रिफिङ गरेका थिए। उनीहरुले आफूहरुले एकताको लागि प्रयास गरिरहेको तर माधव नेपालले नयाँ पार्टी गठन गर्न हतार गरेको बताएका थिए।


