दश महिने शिशु अपहरण गरी बेपत्ता पारेको अभियोगमा एक पक्राउ – Kanika Khabar
Sunday, March 3Nepali News Portal

दश महिने शिशु अपहरण गरी बेपत्ता पारेको अभियोगमा एक पक्राउ

    मा प्रकाशित

भदौ ६, सुर्खेत ।

जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय  दानबहादुर रोकाय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए ।

अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताए ।

जिप्रका जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले  जुम्ला हिमा–३ का १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिए ।

“घटना निकै गम्भीर र संवेदनशील छ”, उनले भने, “अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न । हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौँ ।”

नाटकीय ढङ्गबाट बच्चाको अपहरण

रोकायको अवैध सम्पर्कबाट शिशु जन्मेको बताइएको छ । किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन् ।

पीडित किशोरीका बुवा शक्तिबहादुर कठायतका अनुसार किशोरीले यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन् । उनले भने“ छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर झक्याएर दानबहादुरले जबर्जस्ती सम्बन्ध राख्यो  ।  शिशु जन्मेपछि अपहरण समेत गर्‍यो । न्याय माग्न जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका छौँ ।”रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्