कनिका डेस्क
जेठ २६, दाङ ।
उपचारमा संलग्न एक जना स्वास्थ्यकर्मीले गुल्मीमा कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर बनेपछि आफ्नै रगत दिएकी छन् । उपचारमा खटिएकी स्वास्थ्यकर्मी सीता छन्त्यालले धुर्कोट गाउँपालिकाका ३६ वर्षीय संक्रमितलाई आफ्नो रगत दिएको गुल्मी अस्पतालका डा. उत्तम पच्चाले बताए ।
डाक्टर पच्चाका अनुसार दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित ती कोरोना संक्रमितमा रक्त अल्पताको समस्या देखिएपछि स्वास्थ्यकर्मी छन्त्यालले रगत दान गरेकी हुन् ।
भारतबाट आएर धुर्कोटको क्वारेन्टाइनमा रहेका बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १४ दिनदेखि आइसोलेसनमा छन् ।
यद्यपि तम्घासको आइसोलेसनमा उपचाररत ती संक्रमितलाई थप उपचारका लागि बुटवल रिफर गरिएकाृ छ, तर विविध समस्याका कारण उनलाई पठाउन नसकिएको डाक्टर पच्चा बताए ।
संक्रमित व्यक्तिको २ पटक गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । उनलाई अस्पतालको बेडमा बस्नसमेत गाह्रो भएपछि भुइँमा राखेर उपचार गर्नु परेको रेसुङ्गा नगरपालिका गुल्मीका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।
यी ३६ वर्षीय पुरुषलाई धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलसँगै एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो । गाउँपालिका अध्यक्ष पोखरेल भने सेल्फ आइसोलेसनबाट कोरोना मुक्त बनेका छन् ।