भ्रुण अस्तित्वले पृथ्वीका जीवित मानिसहरूसँग गाँसिएको सम्बन्ध भौतिक शरीरले विश्राम लिए पश्च्यात टुट्ने सारा जैविक सम्बन्धहरु कमजोर हुन भन्न सकिदैन । बरु समय चक्रसँगै नाता सम्बन्धहरु कमजोर वा बलिया सावित हुने गर्दछन भन्नू बुद्धिमानी हुन जाला । जब जब हाम्रा सम्बन्धहरुले प्रतिकुल प्रभाव जन्माउँछन् ती सम्बन्धहरु आपसे आप फितला र औचित्यहीन बन्दै जान्छन् । गर्भबाटै सम्बन्ध जोड्ने मानिसहरुले नाता सम्बन्धका गुण र दोषको मात्र केलाउन कन्जुस्याइँ गरेको भेट्टिन्छ । मानव मानवबिच स्थापित दरिला एवं कसिला नाता सम्बन्धहरुलाई तोड्न किन रत्तिभर पनि हिचकिचाउदैन ? बर्षौदेखिको प्रगाढ सम्बन्ध क्षणिक आवेगको भरमा कसरी गलहत्याउन सक्द्छन होला ? यस्ता गम्भीर प्रश्नहरुले मेरो मथिङ्गल नराम्ररी कम्पन उठाइदोछन् । मेरो सानो मस्तिष्कलाई उथलपुथल बनाईरहन्छन् । हाम्रा जन्म र मृत्युको यात्राभरि बनाएका अनि जोडेका सबै सम्बन्ध अनि नाताहरु उत्तिकै बलिया र विश्वसनीय हुनु पर्दछ भन्ने किमार्थ बलियो तर्क होइन । तथापि त्यस्ता सम्बन्धहरु एक पक्षीय ढङ्गले न दरिला हुन्छन न विश्वसनीय नै हुने गर्दछन् । सम्बन्धहरु बलिया र भर पर्दो खोज्ने हो भने एकले अर्कोलाई चिन्न अनि बुझ्न सख्त जरुरत पर्दछ । मानिसले सानो सानो असमझदारीका कारण सम्बन्ध तोड्न आँखा चिम्लिदिन्छन् । संसारमा जोडिएका अति निकटतम सम्बन्धहरुलाई खोतल्ने हो भने बाहिरी दुनियाँका सम्बन्धहरु नियालेर समस्याको चुरो भेट्टाउन सकिदैन । सम्बन्ध टुट्नुको दृष्टान्त बाहिरी दुनियाँमा खोजतलास गर्न आवश्यकता पर्दैन । हरेक मानवले आफ्नो भौतिक शरीर र आत्माको सम्बन्धलाई एकान्तमा घोत्लिएर ठन्डा दिमागले हे¥यो भने काफी हुन्छ । मनोबिज्ञानका पिता सिगमन्ड फ्रयाडको सिद्धान्त मुताविक मानव मस्तिष्कको वर्गीकरणलाई अध्ययन गर्यौ भने हामीसँग चेतन, अर्धचेतन र अचेतन मस्तिष्क गरी जम्मा तीन प्रकारका मस्तिष्क छन् भन्ने मान्नु पर्दछ । यी तीन वटै मस्तिष्कले एक अर्कालाई न्युनतम सन्तुलनमा राख्ने हरपल प्रयत्न गरिरहेका हुन्छन् । तर कहिलेकाही कुनै एक मस्तिष्कमा थोरै असन्तुलन हँुदा मानिसले आफ्नो जीवनको परम कर्तव्य भुलिदिन्छ । उसले उक्त असन्तुलनले निम्त्याउने प्रतिफल भुलेर आफ्ना सम्पूर्ण उत्तरदायित्व छोडिदिन्छ । आगामी दिनहरुमा उचित, अनुचित कुन कदम चाल्न पुगिन्छ भन्ने सोच्न असफल हुन्छ । फलस्वरूप अरुको नजरमा ऊ स्वार्थी, निर्दयी, निरङकुस, घमण्डी अनि पाखण्डी बन्न पुग्दछ । यहाँनेर बाट आपसी असमझदारीको बिजारोपण सुरु हुन्छ र मानिसले जीवनभर लगाएर आर्जेको मान, सम्मान, धन दौलत, नाता सम्बन्ध, यश आराम सबै एक निमेषमा गुमाइदिन्छ ।
हरेक प्राणीहरुको लागि सृष्टिकर्ताहरु नै साक्षात् भगवान हुन् । उनीहरुलाई मात्र यस जीवनमा जीवित भगवान सकिन्छ । हामी केवल मनको पुकार सुनेर चेतन मन अर्थात् मायावी मनलाई सान्त्वना दिन मठ मन्दिर, गुम्बा, गिर्जाघर धाउने गर्दछौँ । शाश्वत सत्य बुझ्ने हो भने हामी धाउने पवित्र स्थलहरु मानव आस्थाले निर्मित स्थलहरु मात्र हुन् । बहकिएको मनलाई बाँधेर अन्तरमनलाई एकाग्रतामा ढाल्ने प्रयास स्वरुपका कदमहरु मात्र हुन् । यसको अर्थ मानव आस्थामा शक्ति नै छैन भन्ने चाहिँ किमार्थ होइन । तर अलौकिक शक्तिबाट प्राप्त हुने जुन आस्था हुन्छ त्यो आस्था बाहिरी दुनियाँबाट कदाचित प्राप्त हुदैन । त्यसकारण कुनै पनि ब्रह्म प्राप्तिको लागि ध्यान र ज्ञानको आवश्यकता पर्दछ । त्यो असली ज्ञान हाम्रा बाहिरी आँखाले देख्न सक्दैन । न त बाहिरी छालाले स्पर्श गर्न सक्द्छ । कसैले ज्ञान के हो भनेर ठोस आकृति खोज्यो भने त्यो सम्भव हुदैन । जसरी पानीलाई स्वाद हिन, गन्धहीन, रङहीन भन्दै गर्दा पनि समुद्रमा जम्मा भएको पानीलाई निलो देख्नु, ठाउँ अनुसारको पानी पिउँदा पानीको स्वाद र गन्ध महसुस गर्नुले पानीको असली गुण र भनाइमा फरक भेटियो भन्नू अज्ञानता हो । पानीलाई माटो वा अन्य घुलनशील बस्तुबाट अलग्याएर पियौ भने मात्र पानीको असली गुण फेला पार्न सकिन्छ । ठिक त्यसैगरी ज्ञानलाई बुझ्न छल, कपट, रिस, द्वेष, आदि त्याग गर्यौ भने ज्ञानलाई पनि गन्धरहित आकृतिरहित अभिमानरहित पाउँदछौँ । सम्बन्धलाई प्रगाढ अनि सुमधुर बनाउन बुझ्नै पर्ने कुरा अभिमान, अहङ्कार, इष्र्या, अहम् जतिजति बढ्दै जान्छ, सम्बन्धको दुरी पनि उतिउती बढ्दै जान्छ । तसर्थ मानिसमा यी गुणहरु अज्ञानताको कारणले पोषित हुन्छन् । यसको विपरीत ज्ञानले मानिसलाई शिष्ट, निश्चल, निश्पक्ष, परोपकारी, सालिन अनि सभ्य बनाउँदछ । ज्ञान आफैमा कहिल्यै पनि अहङ्कारी हुँदैन । यो सुर्य जस्तै दागरहित हुन्छ । यो हावा जस्तै सितल र स्वच्छ हुन्छ । यो नदी जस्तै पवित्र र निर्मल हुन्छ । यो जननी जस्तै सहनशील हुन्छ । यो पिता जस्तै न्यायमुर्ती अनि सदाचारी हुन्छ ।
जीव विज्ञानले कोष, तन्तु, अङ्ग र प्रणालीहरु बिचको अन्तरनिहित सम्बन्धले शरीरले पूर्णता पाउँछ भन्दछ । यदि यी मध्ये कुनै एकमा अलिकति पनि असहजता आयो भने कसैले शारीरिक तथा मानसिक आराम महसुस गर्न सक्दैन । ठिक त्यही ढङ्गले पृथ्वीमा कायम हाम्रा सम्बन्धहरु बिचमा खटपट आउँदा सम्बन्ध चिसिदै जाने निश्चितता बढ्दै जान्छ । यसर्थ जीवन प्राप्तिको असली महिमा बुझ्न हाम्रो दृष्टिकोण बदल्नु जरुरी देख्दछ ु। बाहिरी आँखा कानले दृश्य श्रव्य गरेको ज्ञानलाई आधार मानेर निष्कर्षमा पुग्नु भुल सावित भैदिन्छ । हृदयको आँखाले हेर्दै हृदयकै कानले सुनेर हृदयबाटै सोच्ने हो भने हाम्रा सम्बन्धहरुले बुद्धत्व प्राप्त गर्ने छन् । तब मात्र लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कवितामा भने जस्तै मानव शरीरको असली मन्दिरलाई चिन्न सकिन्छ । ‘यात्री’ कविताले सुझाए जस्तै दीनहीन, दुखी दरिद्रहरुको सेवा गर्नुमा लालायित भएर भगवानको खुसी भेट्टाउन सकिने छ । यसले मानव मानव बिचको सम्बन्धलाई दृष्टिको अन्तिम बिन्दुमा देखिने क्षितिजले आकाश र पाताललाई जोडे जस्तै जोडिदिने छ । त्यो सम्बन्ध जहिले जहाँबाट जसरी हेरे पनि एकनासको देखिने छ । यसर्थ हाम्रा प्रत्येक नाता सम्बन्धहरु कुनै पनि बहानामा तोडिने छैनन । कर्तव्यबोधले उत्तरदायी बन्ने जो कोही पनि ज्ञानको मार्गबाट कहीँ कतै बिचलित हुने छैन । अनि गणेश र कुमारमा लोकले कसको पूजा पहिला गर्ने भन्ने विवादमा गणेशलाई मुसाले दिएको अर्ति पालनाले गणेशकै पूजा सर्वप्रथम गर्ने परम्परा चलेको कथाले आफ्ना माता पितालाई असली भगवान मानेर पूजा गरिने छ । अनाथ आश्रम, वृद्धाश्रम खोले अवधारणामा ब्रेक लाग्ने छ ।
दिन, हप्ता, महिना अनि वर्ष निरन्तर अघि बढिरहेका हुन्छन् । सम्वादहीन उकुसमुकुसले थिचोमिचो गर्दै आकुलव्याकुल बनेका युगसरी पलहरुले निरन्तर घोचिरहन्छन् । निभाउन नसकेका नाता सम्बन्धहरुले पिरोलिरहन्छन् । एक्लोपनका ज्वारभाटाको उथलपुथलले भित्र भित्रै तड्पाउँदोरहेछ । अनि जीवन जिउँदो लास भएर बाँचेको आभास हँुदोरहेछ । जोड जोडले शब्द पुकार्दैमा भाव झल्किदो रहेनछ । नाता जोड्दैमा अपनत्वको आभास हुँदो रहेनछ । प्रकृतिको स्वाद भोग पश्च्यात बनेका सम्बन्धहरु तोडिदा पनि हृदयले शान्तिको आभास पाउँदो रहेनछ । एकान्तसँग गाँसेका सम्बन्धहरु केवल मनको चञ्चलतालाई मथ्थर पार्नका लागि मात्र जोडेको आभास हँुदो रहेछ । यसरी समय र परिस्थितिले हाम्रो सोचाइ र बुझाइमा अज्ञानताका ज्वार भाटाहरु पैदा गर्दा हाम्रा सुमधुर नाता सम्बन्धमा पनि उतारचढाव ल्याईदिन्छ । अनि जीवनको जटिल र निर्णायक घडीमा मानिसले धैर्य र बुद्धिमता गुमाई बस्दछ । कुटिलतामा आफूलाई निपुण सम्झने मानिसले यस्तो प्रतिकुल आवस्थाको फाइदा अर्को व्यक्तिले उठाईरहेको फिट्टिक आभास पाउँदैन । बरु एकोहोरो आफ्नो नियतीको लागि अरुप्रति औँला ठड्याउनुमा खुशी र आत्मसन्तुष्टिको आधार पाउँदछ । हिजो हाम्रा निमित्त आदर्श बनेका तिनै महान व्यक्तिहरुको नगन्य गल्तीलाई पहाड बनाएर उनीहरु र आफूबिच विकराल खाल्डो खनिरहन्छ । त्यही खाल्डोलाई भर्ने नाता सम्बन्धहरुमा चिराचिरा पार्दै थप दरार पैदा गरिरहन्छ । त्यसबेला नाता सम्बन्धहरु शरदयामका पातहरुले वृक्षलाई चटक्क बिर्सेर सुक्ष्म हावालाई अङ्कमाल गर्दै छुट्टिएर उडे जसरी सम्वन्धको बाटो मोडेर टाढा जान्छ । यात्राको सारथि मानिएका तिनै सम्बन्धहरु धागो चुडेको चङ्गा जस्तै एक्लै गगन चुम्न उडिरहन्छन् । यसर्थ नाता सम्बन्ध त्याग गर्दैमा मानिसमा परम आनन्द मिल्दैन ।
जीवनले आर्जेका सबै नाता सम्बन्धहरुले मानिसलाई उदासिनता र नैराश्यताबाट मुक्त गर्न सक्ने भए प्रकृतिमा आँखा खोलेदेखि जुर्न वा जोड्न सुरु गरेका नाता सम्बन्धहरुको सुचिबाट मानिस एक्लिन खोज्दैन थियो होला । सामाजिक प्राणीको उपमाबाट अछुतो हुन नसक्ने मानव जातिले जीवनमा प्रशस्त नाता सम्बन्धहरु गास्ने गर्दछ । उसका ती नाता सम्बन्धहरु सँगसँगै दृश्य तथा अदृश्य उत्तरदायित्वहरु पनि थपिदै जाने गर्दछन् । समाजले चलाएका विविध परम्परा र रीतिरिवाजमा टेकेर उसले जन्मदेखि मृत्युसम्म सयौं नाता सम्बन्धहरु जोड्दै जान्छ । तिनै नाता सम्बन्धहरुप्रति वफादारी निभाउन नसक्दा एकदिन सबै नाता सम्बन्ध फिका र अर्थहीन प्रतीत हुन्छ । अनि उसलाई एकान्तभुमिको चाहनाले वितृष्णाको पोखरीमा फ्यालिदिन्छ । यदाकदा मातृवात्सल्यको महिमालाई कमजोर बनाउँदै गर्भको भ्रुण अथवा नवजात शिशुको त्याग गर्नु नारीले बाध्यता वा यौवनको उन्मातलाई थेग्न नसकेको परिणाम हुन सक्ला जस्तो लाग्दछ । नाता सम्बन्धहरु टुट्नु शरीरबाट निस्केको रगतबाट पानी छुट्टिनु जत्तिकै प्राकृतिक प्रक्रिया जस्तै लाग्दछ । आफ्नो राजकुमार सिद्धार्थ गौतमले घर परिवार, नाता सम्बन्ध अनि राजकीय सुख सयल त्याग गरेर जीवनको नयाँ सम्बन्ध खोज्न निस्किनुले सुरुमा कष्ट दिए पनि कालान्तरमा आत्म सन्तुष्टि प्रदान गरेको छ । तर आजभोलिका गृह, परिवार, नाता सम्बन्ध त्याग उत्तरदायित्व र कर्तव्यबोधबाट भाग्ने मार्ग बनेका छन् । यदि ध्यानकेन्द्रहरुदेखि तपोभूमिमा पुगेर जीवनसँग अलौकिक नाता जोड्न सक्याँै भने सम्बन्धहरुले नयाँ परिभाषा प्राप्त गर्नेछन् । अनि मानिसहरू सुनसान जङ्गलहरुका बिचमा पुगेर हप्तौं, महिनौं अनि वर्षौँ ध्यानमग्न हुने थिए होला । अपवाद बाहेकका मानिसहरु प्राकृतिक नाता सम्बन्धहरुको शितल स्पर्शबाट वञ्चित भएर अन्तर हृदयबाट विक्षिप्त हुदैनन् होला । यथार्थमा कृत्रिम मुस्कानले बाहिरी संसारलाई छल्न सके तापनि आफ्नै आत्मालाई छल्न सम्भव छैन । अरुलाई छल्दा मुस्काराउने मानिस आफैले आफैलाई छल्दा कदापि अन्तर हृदयबाट मुस्कुराउन सक्दैन । वनावटी खुशीहरु हृदयलाई प्रफुल्ल पार्न कदापि सक्दैन । यदि हामीलाई खुसीको प्रतीत भैहाल्यो भने पनि त्यो खुसी ब्रह्मुढाको भुमरी जस्तै भैदिन्छ । त्यसप्रकारका खुसीहरु कहाँ हराउँछन् र कसरी ओलपिन्छन थाहा नै हुँदैन । तसर्थ स्वार्थरहित भावनाले हृदयको गहिराइबाट जोडिएका सम्बन्धलाई सच्चाइको बुनियादले प्रगाढ अनि दरिलो बनाउन सक्दछ । अन्यथा खुला आकाशमा उड्दा उड्दै अग्निशिखामा पुतलीले आफ्नो जीवनको आहुती दिए झै हाम्रा नाता सम्बन्धहरुले वियोगान्तको भुमरीमा आफ्नै जीवनको आहुती दिनु पर्दछ । यदि मानिसले अभिमान, स्वार्थ, प्रतिशोध, इष्र्या अनि वैमनस्यता त्याग्न सक्यो भने उसका सम्पूर्ण नाता सम्बन्धहरु सदा जीवन्त भएर लहराउने छन् ।