अविरल वर्षाका कारण कतै डुबान, कतै पहिरो – Kanika Khabar
Friday, April 26Nepali News Portal

अविरल वर्षाका कारण कतै डुबान, कतै पहिरो

    मा प्रकाशित

भदौ ११, नवलपरासी ।
अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा क्षति पुगेको छ । वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । हिजो बिहीबार राति करिब ९ बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो ।

यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा समेत पहिरो गएको छ । दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ ।

अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट–४ मा एउटा घरमा पहिराले क्षति पुर्‍याएको छ । तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन् ।

यस्तै पहिरोले थुनेको म्याग्दीको रघुगङ्गा नदी ओभरफ्लो भएर बग्न थालेको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले पहिरोका कारण नदि थुनिएर करिव १ किलोमिटर क्षेत्रमा ताल बनेको भएपनि अहिले ओभरफ्लो भएर बग्न थालेको जानकारी दिनुभयो । नदि बग्न थालेपनि जोखीम भने कायमै रहेकाले कालीगण्डकी नदी किनारका बासिन्दालाई सचेत रहन अनुरोध गरिएको छ ।

 

वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकमा पहिरो खसेपछि गएरातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । लगातारको वर्षाका कारण देवदह –७ शितलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको हो । पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न नसकेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। भरतपुर महानगरपालिका–२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको छ । पहिरोका कारण भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्