कनिका संवाददाता
जेठ २८, दाङ ।
आगामी आर्थिक वर्ष २०७७÷८८ को बजेटका बारेमा सांसदले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेपछि बस्दैछ ।
प्रधानमन्त्री ओलीले विनियोजन विधेयक अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शिर्षकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
सभामुख अग्नि सापकोटाले सांसदहरूबाट प्रस्तुत भएका खर्च कटौती प्रस्ताव निर्णयार्थ पेश गर्ने, अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने, अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (चौबिसौँ संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने लगायतका कार्यसूची आजका लागि रहेको संसद सचिवालयले जनाएको छ ।
आजको सम्बोधनलाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले महत्वका रुपमा हेरेको छ । संसदमा काङ्ग्रेसले उठाएका प्रश्नहरुको जवाफमा प्रधानमन्त्रीको तयारी कस्तो रहेको छ भन्ने काङ्ग्रेसको सवाल हो । आफूले सदनमा उठाएका प्रश्नहरुको चित्त बुझ्दो जवाफको अपेक्षा काङ्ग्रेसले गरेको छ ।