भानु चोक कि घोराही चोक ?, यो सहमति गरेर समाधान भइहाल्ने विषय हो : नगर प्रमुख चौधरी – Kanika Khabar
Friday, March 29Nepali News Portal

भानु चोक कि घोराही चोक ?, यो सहमति गरेर समाधान भइहाल्ने विषय हो : नगर प्रमुख चौधरी

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ ।
घोराही उपमहानगरपालिका वडा नंं १५ मा अवस्थित मुख्य चोकको नामाकरणको विषयमा अहिले ‘माग –बहस’ चलिरहेको छ । केही वर्ष पहिले भानु चोक नामाकरण गराइएको यस चोकको नाम ‘नामाकरण’ भन्दा चल्तीको नाम ‘तुलसीपुर चोक’ ले चिनिन थाल्यो । निर्णय भए पनि चलन चल्तीमा ल्याउन सकिएन । तुलसीपुर चोककै नामबाट चिनिदै आयो ।
केही महिना अगाडि अर्थात् गत माघ १७ गते पत्रकार  किशोरचन्द्र गौतमले सामाजिक सञ्जालमा यस विषयलाई उठाए । गौतमले नेपाली भाषा र आदिकविको सम्मान गर्न अनुरोध भन्दै आफ्नो स्टाटस सार्वजनिक गरेका थिए । ‘‘थारू संस्कृतिसंग अभिन्न रूपले जोडिएको जोडी घोडा घोराहीको पहिचानसँग पनि जोडेर ट्राफिक चोकमा स्थापना सकारात्मक नै लागेको छ । ठाउँ र दाङका मूल निवासीको संस्कृतिको पनि सम्मान भएको छ । तर घोराहीकै अर्को चोक तुलसीपुरचोकमा पनि अर्को उस्तै एउटा घोडा राख्ने कुरामा पुनर्विचार गरियोस् । पुरानो नाम ‘भानु चोक’ भएकाले आदिकविको शालिक उपयुक्त हुन्छ । यसबाट हाम्रो समाज भौतिक विकास मात्र होइन भाषा संस्कृतिप्रति संवेदनशील भएको देखिनेछ । निर्णयकर्ताहरू जनप्रतिनिधि हुनुहुन्छ । इगो फालेर गम्भीरतापूर्वक सोचिदिनुस् ।
नेपाली भाषाप्रतिको सम्मान गर्दै आदिकविलाई स्थापित गराँै । राप्ती साहित्य परिषद, लेखक संघ सम्बद्ध एवम् अन्य साहित्यकार लेखकहरू सबैले अनुरोध गर्ने हो कि ? दुईवटा चोकमा घोडामूर्तिको पुनरावृत्ति किन ?झन् झुक्याउने जस्तो भयो । आदिकविप्रति यस्तो असहिष्णुता नदेखाऔँ । द्वेष,आग्रह र घृणाको खेतीले हामी सबैको अहित गर्ने हो । सबै भाषा संस्कृति सम्मानित बनून् हाम्रो समाजमा । शान्त मनले सोचौ र निर्णय गरौ मेयर, उपमेयर अध्यक्षज्यूहरूमा विनम्र निवेदन छ ।’’ गौतमको स्टाटसमा लेखिएको थियो । यो स्टाटसले त्यतिबेला सोचेबमोजिम सम्वन्धित निकायको ध्यानाकृष्ट गराउन सकेन । यद्यपि यो दवावका लागि भन्दा पनि सचेतताका लागि लेखिएको थियो । सकारात्मक तथा रचनात्मक कार्यका लागि सोचनीय थियो ।
झण्डै चार महिनापछि अहिले यो विषय बहसका रुपमा आएको छ । दाङमा साहित्यिक संघ संस्था तथा स्रष्टाहरुले विज्ञप्ति मार्फत यो विषयलाई पुनः उठान गरेका छन् । यही जेठ २७ गते साहित्यिक संस्था र स्रष्टाहरुले चोकको नामाकरण ‘भानु चोक’ गरी आदिकवि भानुभक्तको सालिक राख्न अनुरोध गरेको थिए । २६ गते सोमबार वडा नं. १५ मा रहेका भानु टोल विकास संस्था, गौतम बुद्ध टोल विकास संस्था र नयाँ सडक टोल विकास संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । त्यसको लगत्तै नागरिक समाज दाङले विज्ञप्ति जारी गरी भानु चोक नामाकरणलाई निरन्तरता दिन आग्रह गरेको छ ।
यज्ञ बहादुर बुढाथोकी ( हाल स्वर्गीय) नगर प्रमुख भएको बेला ०५१ मा नै यस चोकको नाम भानु चोक राख्ने भनेर निर्णय भइसकेको थियो । त्यतिबेला त्रिभुवन नगर जेसिज लगायत अन्य संघसंस्थाको कार्यदल बनाएर विभिन्न चोक र सडकको नामाकरण लागि पहल गर्ने जिम्मेवारी पनि दिइएको थियो । त्यति नै बेला यस चोकको नाम भानु चोक सिफारिस भएको र नगरपालिकाबाट निर्णय पनि भइसकेको जानकारहरु बताउँछन् ।
त्यसैगरी तत्कालीन त्रिभुवन नगरपालिकाका नगर प्रमुख अमर बहादुर डाँगी (हाल प्रदेश सभा सदस्य, प्रदेश नं. ५) को समयमा पनि यस चोकको नाम भानु चोक राख्ने भनेर पुनः निर्णय भएको छ । डाँगीले कनिका खबरसँगको संवादमा भने, ‘‘०५६÷०५७ तिर म नगर प्रंमुख भएको बेलामा विज्ञहरुसँग छलफल गरेर यो चोको नाम नामाकरण ‘भानु चोक’ गरिएको हो । अब पुनः यसको फरक नामाकरण गर्न आवश्यक छैन । यो चोकको पहिले नै नामाकरण भएकाले त्यही नामले नै निरन्तरता पाउनुपर्छ र पाउँछ पनि ।’’
घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेश कुमार पाण्डेले इतिहासलाई मेट्न नहुने, इतिहास इतिहास नै रहन्छ र इतिहासलाई संरक्षण गरेर राख्नपर्ने बताए । कनिका खबरसँगको संवाददमा उनले भने, ‘‘भानु चोक नाामाकरण कुनै नयाँ एजेन्डा होइन, यो पुरानो नाम हो । यसको नामाकरण भइसकेको छ । यसको नाम परिवर्तन गरेर नयाँ नाम राख्ने निर्णय गरिनु दुःखद् कुरा हो, नयाँ नाम नयाँ एजेन्डा हो । भानु चोक निर्णय भइसकेको नाम हो यसलाई परिवर्तन गर्नु इतिहासको अपमान हो ।’’
घोराही उपमहानगरपालिकाको गत फागुन ३ गते बसेको कार्यपालिका बैठकले यस चोकको नाम घोराही चोक राख्ने निर्णय गरेको हो । साथै यस चोकमा घोडाको प्रतिमा पनि राख्ने भनेर निर्णय भइसकेको छ र प्रतिमा पनि तयार भइसकेका छन् । अब पुरानो नामले नै निरन्तरता पाउँछ या पछिल्लो निर्णयले भन्ने सन्दर्भमा कनिका खबरसँगको संवादमा नगर प्रमुख नरुलाल चोधरीले सहमतिका आधारमा अगाडि बढ्न सकिने बताएका छन् । उनले भने, ‘‘अहिले यसबारे विवाद गर्नुपर्ने र बहस गर्नुपर्ने विषय नै छैन, मान्छेहरु किन त्यस्तो गरेका छन्, मलाई थाहा भएन ।’’ त्यसो भए यस चोको नाम भानु चोक हुने सम्भावना नभएको हो त भन्ने सन्दर्भमा प्रमुख चौधरीले भने, ‘‘सम्भावना छैन भन्न मिलेन, सल्लाह गरेर जे पनि हुन सक्छ त्यहाँ । भानु चोक पनि हुन सक्छ, अरु चोक पनि हुन सक्छ । यसमा नगरपालिकाको छुट्टै भिजन, जनताको छुट्टै भिजन भन्ने हुँदैन, यो विवादको विषय नै होइन, सल्लाह सहमतिबाट यो विषय टुङ्गो लागिहाल्छ ।’’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्