बाँदर धपाउने यन्त्रले ल्यायो किसानमा खुशी – Kanika Khabar
Friday, March 29Nepali News Portal

बाँदर धपाउने यन्त्रले ल्यायो किसानमा खुशी

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३०, वालिङ
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले यहाँका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । वालिङसहित देशका विभिन्न ठाउँमा किसानले उत्पादन गरेको बालीनालीमा बाँदरले हानी नोक्सानी पु¥याएसँगै आतंकित बनेका किसानलाई यन्त्रको सहायताले सहजता हुने भएको छ ।

बाँदरले आतंक मच्चाएका कारण कतिपय खेतीयोग्य उर्बर जमीनहरू बाँझै हुने समस्या समाधान गर्दै किसानलाई कृषि ब्यवसायतर्फ लाग्न अभिप्रेरित गर्ने उद्देश्यले बाँदर धपाउने यन्त्र वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “वालिङसहित देशब्यापीरुपमा किसान दाजुभाई दिदीबहिनीहरूका लागि बाँदर साझा समस्या हो” नगर प्रमुख खाँणले भन्नुभयो, “यसको प्रयोगका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जानकारी गराईएको छ ।” युपिभिसी पाईपबाट निर्माण गरिएको यन्त्रमा ‘कारबाईड’ लाई पानीले घोली मिश्रण बनाएर पछाडिबाट लाईटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किने भएकाले यो प्रविधि सरल र सस्तो रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।

नगरपालिकाले बाँदर आतंकबाट प्रभावित भएका किसानहरुलाई लक्षित गरी पहिलो चरणमा एकसय वटा यन्त्र वितरण गरेको हो । भीरकोट १ हेलुका बासिन्दा भवि कोईरालाले निर्माण गर्नुभएको यन्त्रलाई परिमार्जन गर्दै वालिङ ८ का ईञ्जिनियर सुरज रिजालले उत्पादन गर्नुभएको हो । बाँदर धपाउनका लागि किसानहरुले खेतबारीमै कुरेर बस्नपर्ने अवस्था भएका कारणले पनि पछिल्लो समय खेतबारीमा बालीनाली लगाउने कार्य हराउँदै गएका बेला यसको प्रयोगले समस्या समाधान भएर जाने विश्वास ईञ्जिनियर सुरज रिजालको छ ।

गाउँ गाउँमा मकै, तरकारी तथा फलफूलहरु खाई दिने, टिपेर फालिदिने जस्ता आतंक बाँदरले मच्चाउने गरेकोमा नगरपालिकाले किसानहरुको समस्यालाई मध्यनजर गरी समाधानको उपाय निकालेकोमा वालिङ ५ पाडेथोकका पुराना किसान यज्ञप्रसाद लामिछानेले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्