कनिका संवाददाता
जेठ ३०, दाङ ।
नेपालका थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भारतको महाराष्ट्रबाट १२ दिन अघि आएर अर्घाखाँचीको क्वारअन्टिनमा बसेका ५७ वर्षका पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्घाखाँची मालरानी ४ का ती पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको आज जानकारी दिएका छन् । श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । यो सहित नेपालमा हालसम्म १६ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार आज एकै दिन नेपालमा शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज थपिएका ४ सय ४८ सहित नेपालमा सङ्क्रमितको संख्या ५ हजार ६२ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । सङ्क्रमित मध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला छन् । नेपालमा हालसम्म ८ सय ७७ जना उपचारपछि निको भएका छन् । १६ जना पछिल्लो चौबिस घण्टामा डिस्चार्ज भएका छन् । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा सङ्क्रमण देखिएको छ ।
मा प्रकाशित