आज ७२ औँ प्रजातन्त्र दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना – Kanika Khabar
Sunday, May 19Nepali News Portal

आज ७२ औँ प्रजातन्त्र दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

    मा प्रकाशित

फागुन ७, काठमाडौँ ।
आज ७२ औँ प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदैछ ।राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७२ औँ प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि. सं. १९९७ माघमा जीवन आहुति दिएका थिए ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सुरुवात भएको थियो ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ । उहाँले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त समेत गर्नुभयो । राष्ट्रपति भण्डारीले जहानियाँ निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएर आधारभूत मानवअधिकारको बहाली गराई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको उल्लेख गर्नुभयो ।

यस्तै प्रधानमन्त्री शेर बहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताउनुभयो । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उहाँले सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन गरेसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्