दाङ काङ्ग्रेसको चेतावनी ‘जालझेलको राजनीति बन्द गर्नुहोस्’ – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङ काङ्ग्रेसको चेतावनी ‘जालझेलको राजनीति बन्द गर्नुहोस्’

    मा प्रकाशित
काङ्ग्रेसको कार्यक्रममा देउमन

फागुन ७, दाङ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८, सातकुलेमा काङ्ग्रेसले पार्टी प्रवेशको कार्यक्रमको आयोजना गरेको थियो । अतिथिहरु आउने क्रम जारी नै थियो । स्थानीय तथा अतिथिहरुले कार्यक्रमस्थल भरिदै थियो । आयोजकलाई कार्यक्रम व्यवस्थापन गर्न भ्याइनभ्याई थियो । वडा नं. १८ का इकाई सभापति बिरेन्द्र खड्का अतिथिहरुलाई स्वागत गर्न तल्ललीन देखिन्थे ।
दर्शकदीर्घा टेन्टले सजाइएको थिए । काङ्ग्रेसका कार्यकर्ताहरु कुर्सी व्यवस्थापनमा व्यस्त थिए । केहीबेरमा इकाई सचिव बिदुर गौतमले कार्यक्रमको औपचारिक सुरुवात गरे । अतिथि आसनग्रहणको कार्यक्रम चल्दै थियो । सचिव गौतमले कार्यक्रमका बारेमा जानकारी पनि गराउँदै थिए । कार्यक्रमको प्रमुख अतिथि थिए काङ्ग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी । विशिष्ट अतिथिका रुपमा थिए महासमिति सदस्य भूपबहादुर डाँगी ।
नेपाली काङ्ग्रेस प्रदेश २ (ख) का कोषाध्यक्ष आशाराम नेपाली (शंकर) टिपोटमै व्यस्त थिए । विभिन्न पार्टी परित्याग गरी काङ्ग्रेसमा प्रवेश गर्न थालेका ७ दर्जनभन्दा बढीको सुचि अघिल्लो दिन नै बनिसकेको थियो । यता आशाराम भने कार्यक्रमस्थलमा भेला भएका वडावासीहरु, पार्टी प्रवेश गर्नका लागि इच्छुक भएकाहरुको अर्को सुचि बनाउँदै थिए ।
व्यक्ति जो प्रष्ट बोल्न सक्दैनथे, प्रष्ट नबुझिने आवाज कम, हाउभाउ बढी लगाउँदै आशाराम भएएकै ठाउँमा पुगे । पहिले त आशारामले उनका कुरा बुझेनन् । पछि स्थानीयको सहायतमा आशारामले कुरा बुझे, उनी पनि पार्टी प्रवेशमा नाम टिपाउन आएका रहेछन् । उनी थिए देउमन नेपाली । नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य । क्रियाशील सदस्यलाई किन पार्टी प्रवेश, सबै अलमलमा परे । तर, देउमन एकोहोरो कराई रहे । आफ्नो नाम टिपाउन प्रयास गरिरहे । पार्टीको मान्छे प्रवेश गर्न पर्दैन, तपाईं पहिले नै काङ्ग्रेस हुनुहुन्छ, उनलाई बुझाउने प्रयास गरियो तर देउमनले भने मानेनन् ।

एमालेकोे कार्यक्रममा देउमन

एक स्थानीयले भने , ‘एमालेको पार्टी प्रवेश कार्यक्रममा उनलाई टिका लगाएर प्रवेश गराइएको हो, प्रवेश गराउँदा उनले बुझेनन् , कार्यक्रममा उपस्थितलाई टिका लगाइदिने भनेर टिका लगाइदिए । सामाजिक सञ्जालमा पार्टी प्रवेश भनेर तस्वीर आयो, हामीले काङ्ग्रेस छाडेको हो भनेर सोधेपछि बल्ल उनले थाहा पाए र काङ्ग्रेसमै छु भनेका हुन् ।’ नेकपा एमालेले पनि आज शनिबार बिहान पार्टी प्रवेशको कार्यक्रम राखेको थियो । देउमनका अनुसार उनलाई झुक्काएर टीका लगाइदिएर पार्टी प्रवेशको चर्चा गरिएको रहेछ ।

तत्कालै आशारामले कार्यक्रममा प्रमुख अतिथि शंकर डाँगी र विशिष्ट अतिथि भूपबहादुर डाँगीलाई बताए । भूपबहादुर डाँगीले सबै कुरा बुझाएपछि देउमन अलि शान्त भए तर काङ्ग्रेस नै भएको प्रमाणका लागि अतिथिसँग तस्बीर खिच्ने अनुरोध गरे ।

कार्यक्रमका प्रमुख अतिथि शंकर डाँगीले मन्तव्यका क्रममा आग्रह गरे, ‘मन खुशी बनाएर प्रबेश गराउनुहोस्, जबरजस्ती प्रवेश गराएर जनता तथा कार्यकर्तालाई पीडा दिने काम नगर्नुहोस् ।’ उनले थपे , ‘अब झुठको राजनीनि चल्दैन, संगठन बिस्तारका नाममा झुठको खेती बन्द गर्नुहोस् ।’

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि भूपबहादुर डाँगीले विपक्षी पार्टीहरुलाई जालझेलका काम बन्द गरेर इमान्दारिता राजनीति गर्न सुझाएका छन् । ‘झुठको राजनीति बन्द गर्नुहोस् । जालझेल बन्द गर्नुहोस् । काङ्ग्रेसलाई जिस्काउन र काङ्ग्रेसका कार्यकर्तालाई दुःख दिन बन्द गर्नुहोस् ।’ उनले चेतावनी दिए, ‘अशक्तताको फाइदा नउठाउनुस् । नराम्रो बन्न नपरोस् ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्