कनिका संवाददाता
असार २, काठमाडौं
नेपाली राष्ट्रिय फुटबल टिमको तयारी अर्को महिना अर्थात जुलाईदेखि गर्ने तयारी अखिल नेपाल फुटबल संघले गरेको छ ।
आगामी अक्टोबरमा हुने विश्वकप छनोट खेलका लागि अर्को महिनाबाट प्रशिक्षण गर्ने गरी सम्बन्धित निकायबाट स्वीकृति लिने एन्फाले जनाएको छ ।
विश्वकप छनोट अन्तर्गतका अस्ट्रेलिया, चाइनिज ताइपेइसँगको खेलका लागि जुलाई महिनाबाट अभ्यास शुरु गराउने निर्णय एन्फाको मंगलवार बसेको कार्यसमितिको आपतकालीन बैठकले गरेको हो । यसका लागि एशियाली फुटबल महासंघको निर्देशन अनुरुप, राष्ट्रिय खेलकुद परिषद्, स्वास्थ्य मन्त्रालयलगायतका सबै सम्बन्धित क्षेत्रमा समन्वय गर्ने एन्फाले जनाएको छ ।
‘राष्ट्रिय फुटबल टिमले आगामी सन् २०२० को अक्टोबर ८ देखि नेपालमा संचालन हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिता २०२२को दोश्रो चरणको खेलहरुमा सहभागी हुन आगामी जुलाई महिनाबाट नै प्रशिक्षण तयारी संचालन गर्ने निर्णय गरियो।’ एन्फाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘उक्त प्रशिक्षण संचालन गर्न एशियाली फुटबल महासंघको निर्देशन अनुरुप सम्बन्धित निकायहरु राष्ट्रिय खेलकुद परिषद, सम्बन्धित स्वास्थ्य मन्त्रालय र खेलकुद मन्त्रालयबाट समेत आवश्यक स्विकृति लिई मात्र संचालन गर्ने तथा आवश्यकता अनुसार निकायमा चाँडै नै पत्राचार गरी स्विकृति लिने निर्णय गरियो ।’
विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण गत चैत देखि राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएको थियो । चैतमै विश्वकप छनोट हुने तय भएपनि कोरोनाकै कारण स्थगित भएको थियो ।
एएफसीले सदस्य राष्ट्रहरुसँग छलफल गरेर अक्टोबर नोभेम्बरमा विश्वकप छनोटका बाँकी खेल गर्ने तयारी गरिरहेको छ ।
कोरोनाकै कारण बी डिभिजन लिग स्थगित भएको थियो भने सी डिभिजन लिग महिला राष्ट्रिय लिग पुरुष प्रदेश लिग राष्ट्रिय लिग लगायत फुटबल प्रतियोगिता रोकिएको छ ।
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले इन्डिभिजुयल खेलबाट खेलाडीको प्रशिक्षण सुरु गर्ने प्रयास भइरहेको जनाएपनि मापदण्ड तोक्न सकेको छैन ।