एयरपोर्ट माथि (अ) राजनीति – Kanika Khabar
Sunday, May 19Nepali News Portal

एयरपोर्ट माथि (अ) राजनीति

    मा प्रकाशित

खेमराज रिजाल
तुलसीपुर, २५ चैत ।

लुम्विनी प्रदेशका संस्थापक मुख्यमन्त्री, स्थानीय नेता तथा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले टरिगाउँ विमानस्थल नेपाली कांग्रेसले बनाउन नदिएको बताएको भोलिपल्ट तुलसीपुर निवासी अरुण लहरेले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, एयरपोर्ट कांग्रेसले रोक्यो रे, त्यसो भए चारलेन सडक कसले बनाउन नदिएको त ?

दुई बर्षअघि नै वि.सं. २०७६ मंसिर ८ गते सञ्चालनमा आइसकेको सब्जीमण्डीको उद्घाटन गर्दै संस्थापक मुख्यमन्त्रीले यस्तो अभिव्यक्ति दिइरहँदा नेकपा एमालेका महासचिव जस्तो गरिमाको पदमा पदाधिन व्यक्तिले एयरपोर्ट बनाउन कांग्रेसले दिएन भन्नु आफैमा पनि लज्जास्पद छ ।

किनकि एमाले नेतृत्वको नेकपा सरकारले चालु आर्थिक बर्षको बजेट बनाइरहँदा तुलसीपुर एयरपोर्टका विषयमा चर्चा गर्दा तात्कालीन नेकपा एमालेका सांसद हिराचन्द्र केसीले मुख्यमन्त्री पोख्रेलको खप्की खानुपरेको थियो । पोख्रेल त्यो बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री मात्र होइन, प्रधानमन्त्री केपी ओलीका पनि एक नम्बरमा पर्ने प्रिय पात्र थिए ।

एरपोर्टमा बजेट नपार्न पनि तात्कालीन नेकपा सरकारको मुख्य भूमिका थियो भन्ने सांसद हिराचन्द्र केसीले पटक–पटक दिएका अभिव्यक्तिले पनि पुष्टि गरेका छन् । त्यही ताका संस्थापक मुख्यमन्त्री पोख्रेलले तुलसीपुर एयरपोर्टको स्तरोन्नतिलाई थाँती राखेर नारायणपुरमा क्षेत्रीयस्तरको विमानस्थलको विषयमा वकालत गरिरहँदा उनको तुलसीपुरमा निकै टिका–टिप्पणी पनि हुने गरेको थियो ।

अहिले सब्जीमण्डीको उद्घाटनलाई बेतुकका रुपमा हेरिएको छ । ‘यो समयमा त संस्थापक मुख्यमन्त्री आएर लमही–घोराही–तुलसीपुर चारलेन सडकको उद्घाटन गरेको हुनुपथ्र्यो, तर चारलेन कसले रोक्यो ?, कसले काम गर्न दिएन ?, कसले काम गरेन भन्ने विषय एमालेले ढाकछोप गरिरहनै पर्नेछैन, किनकि यसका विषयमा जानकारी छताछुल्ल भइसकेको छ’, तुलसीपुरकै एकजना नागरिक अगुवाले भने ।

संस्थापक मुख्यमन्त्री पोख्रेल मात्र होइन, नेकपा माओवादी केन्द्रका प्रभावशाली तेता कृष्णबहादुर महरालाई पनि बाजागाजा साथ एयरपोर्टमा स्वागत गर्दा भनेका थिए, यही आर्थिक बर्षमा यो विमानस्थलको धावनमार्ग विस्तारका लागि डिपिआर गरी बजेट समेत विनियोजन हुनेछ । तर भएन । वर्तमान अर्थमन्त्री जनार्जन शर्मा पनि टरिगाउँ विमानस्थलमा अराजनीति गरिरहेका छन् ।

‘यहाँ तपाईलाई के भन्नुहुन्छ थाहा छैन, तर उहाँ (अर्थमन्त्री) जनार्दन शर्माले रोल्पामा व्यवसायीहरुमाझ तुलसीपुर विमानस्थल विस्तारमा जटिल प्राविधिक समस्या छ भन्नु भाछ’, तुलसीपुर उद्योग वाणिज्य संघको साधारणसभामा शुभकामना मन्तव्य दिने क्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा रोल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष किशोर आचार्यले स्पष्ट पारेका थिए ।

कांग्रेस नेता डिल्लीबहादुर चौधरीले पनि एयरपोर्ट स्तरबृद्धिका विषयमा निकै आश्वासन बाँडे । ‘यो माघी बनाउन प्रधानमन्त्री देउवा धावनमार्ग विस्तारसहितको योजना लिएर यही विमानस्थलमा ल्याण्ड गर्दै हुनुहुन्छ ।’, तर खोई देउवा आएको ? देउवा आएनन् मात्र होइन, परिमार्जित बजेटमा पनि टरिगाउँ विमानस्थललाई शून्य सम्बोधन भयो । तर अनर्गल प्रचारहरु हावी भए कहिले ५५ करोड, कहिले ५ करोड त कहिले ५५ लाखका फेसबुके सूचनाहरु चुहाइए ।

खासमा यो आर्थिक बर्षमा टरिगाउँ विमानस्थल स्तरोन्नतिको बजेट भनेको तुलसीपुर उद्योग वाणिज्य संघले थालेको खुत्रुकी अभियान मात्रै हो । त्यो खुत्रुकीमा कति पैसा उठेको छ ? जानकारी कसैले खोजेको छैन, तर अभियान आफैमा व्यङ्ग्यात्मक मात्र नभएर नेतृत्वलाई नैतिक दबावका लागि पनि हो । जनताले एयरपोर्ट विस्तारका लागि खुत्रुकी अभियानमा एक रुप्पे खसाउँदै गर्दा सरकारमा प्रतिनिधित्व गर्ने नेताहरुले बजेटमा एरपोर्ट लेखाउन सक्ने हुन् कि होइनन् ।

खुत्रुकी अभियानका अभियन्ता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे भन्छन्– ‘बजेट ल्याउनु अगावै हामी यही खुत्रुकी बोकेर पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र अर्थ मन्त्रालयमा डेलिगेशन जाँदैछौं । मेरो यो निर्वाचनमा कुनै चाहना छैन, तर एयरपोर्ट विस्तार मात्रै मेरो अभियान हुने छ’, अध्यक्ष चालिसेले पत्रकारमाझ भन्ने गरेका छन् । नागरिकहरु अवाक भइसकेका छन् ।

तुलसीपुर निवासी युवा व्यवसायी रेशम खड्काले बिहीवार आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्– ‘भो नलेखौं एयरपोर्ट चुनावी घोषणापत्रमा, जब साँघुरो एयरपोर्टलाई विस्तार गर्न सकिँदैन भने ।’ मार्मिक व्यङ्ग्य छ, स्ट्याटसमा चुनावमा एयरपोर्टलाई भज्याउने नेतृत्वहरुलाई । त्यति सानो काम पनि गर्न नसक्ने दाङका नेतृत्वबाट आम दङालीले के आशा गर्ने ? अहिले सञ्चालनमा आएको एयरपोर्ट नाम मात्रको हो, सेवाका लागि होइन ।

कुनै पनि नागरिकले आकस्मिकरुपमा हवाइ सेवा चाहियो भने, अहिले तुलसीपुर–काठमाडौँ हवाइ टिकट पाउन सक्ने अवस्था छैन । बाह्रजना बोक्ने सानो विमानको एक महिनाअघि नै हाउसफुल भैसक्छ । सघन उपचार चाहिने बिरामी काठमाडौँ लैजान पटक–पटक हेलिकोप्टर चार्टर गर्न बाध्य छन्, दाङबासीहरु । एउटा गतिलो हवाई सेवा नभई कसरी सार्थकता पाउला प्रादेशिक राजधानीले भनेर यहाँ आउने आन्तरिक पर्यटकहरुले प्रश्न गरिरहेका छन् ।

हुक्क भएर अर्का तुलसीपुरबासी प्रेम बस्नेतले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्– ‘दाङलाई खुल्ला दिसामुक्त ग¥यौँ, बालश्रममुक्त घोषणा गर्न थालिसकेका छौं, अब हवाई सेवामुक्त दाङ भनेर घोषणा गर ।’ साँघुरो विमानस्थलमा सानै जहाजले सेवा दिइरहँदा अत्यावश्यक बेलामा पनि हवाई टिकट पाइँदैन भने हवाइ सेवा चलिरहेको छ भन्नुको कुनै अर्थ रहँदैन । जति खोज्यो उति भेटिने छन् यस्ता सामाजिक सञ्जालका स्ट्याटसहरु । किनकि हवाई सेवाविहीन दाङबासीले गाडी रिजर्भ गरेर भैरहवा र नेपालगञ्ज एयरपोर्ट पछ्याइरहेको झल्झल्ती स्मरण गरिरहेका छन् । नेताहरुले एयरपोर्टका कुरा गर्दा पनि नागरिकले यसलाई अराजनीतिका रुपमा लिने गरेका छन् ।

वि.सं. २०११ सालदेखि सञ्चालनमा आएको टरिगाउँ विमानस्थलको एकपटक स्तरबृद्धि भए पनि ठूला जहाज अवतरण हुन सक्ने गरी हुन सकेन । धावनमार्ग जम्मा ७ सय ५० मिटर लम्बाइको छ । यसलाई बढाएर १२ सय ५० मिटर पु¥याउन सकेमात्र यहाँ ४२ सिट सम्मका ठूला जहाज ल्याण्ड गर्न सक्नेछन् । अन्यथा सानो जहाजले दिएको हवाई सेवाले दाङबासीको हवाइ सपना पूरा गर्न नसकेको स्थानीयबासीहरुले बताएका छन् । मुलुकमा तीनै तहका निर्वाचन नजिकिँदै गर्दा दाङबासीले यहाँका राजनेताहरुलाई एयरपोर्टमा अराजनीति नगर्न चेतावनी पनि दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्