एक्लै भिड्दै एमाले, केन्द्रलाई कुर्दै गठबन्धन – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

एक्लै भिड्दै एमाले, केन्द्रलाई कुर्दै गठबन्धन

    मा प्रकाशित

नारायण खड्का
तुलसीपुर, २८ चैत ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा दाङमा एक्लै भिड्ने तयारी गरेको छ । एमाले जिल्ला कमिटी अध्यक्ष हुकुमबहादुर बस्नेतले दाङमा एमालेको कसैसँग तालमेल नहुने र एक्लै मैदानमा उत्रने जानकारी दिएका हुन् । बस्नेतले घोराहीमा भने अहिलेका नगर प्रमुख नरुलाल चौधरीलाई नै फेरि दोहो¥याउने तयारी भइरहेको बताए ।

‘तुलसीपुरका नगर प्रमुख घनश्याम पाण्डेले म फेरि दोहोरिदिन्नँ भन्नुभयो, तर, घोराहीमा नरुलालजीले फेरि एकपटक दोहोरिने चाहना व्यक्त गर्नुभएको छ,’ अध्यक्ष बस्नेतले भने– ‘एमालेको पोलिटब्युरो सदस्य चौधरीले फेरि प्रमुखमा दोहोरिने चाहना गरेपछि त्यसलाई पार्टीले पनि सकारात्मकरूपमा लिएको छ ।’ घोराहीमा कृतिम जलाशय निर्माण, फोहोर व्यवस्थापनलगायतको क्षेत्रमा चौधरीले राम्रै काम गरेको भन्दै चर्चा भइरहेको छ । तर, जिल्ला पार्टी कमिटीले तीनजनाको नाम सिफारिस गर्न आग्रह गरेको अध्यक्ष बस्नेतले बताए । औपचारिकताको लागि तीनजनाको नाम सिफारिस गर्न भनिए पनि नगर प्रमुख चौधरीको हकमा सर्वसम्मत निर्णय हुनसक्ने अध्यक्ष बस्नेतले संकेत गरे ।

२०७४ सालको निर्वाचनमा एमालेका नरुलालले २२ हजार ३ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४ सय ८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए । घोराहीमा अहिले पनि कांग्रेस र माओवादीबाट डाँगी र गौतमकै नाम नगर प्रमुखका लागि चर्चामा छ ।

त्यस्तै, २०७४ सालको स्थानीय तह निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुखमा एमालेका घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ७ मत र माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६ सय ९३ मत मात्रै प्राप्त गरेका थिए । तर, तुलसीपुरमा यतिखेर नगर प्रमुख पाण्डेको बारेमा नकारात्मक टीका–टिप्पणी बढी भइरहेका छन् ।

आफ्नो चुनावी घोषणापत्रमा तुलसीपुरलाई नेपालकै नमूना र स्मार्ट सिटी निर्माण गर्ने, टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तार गरी ठूला जहाज अवतरण गराउन भूमिका खेल्नेजस्ता महत्वाकांक्षी योजना अघि सारे पनि त्योअनुरूप काम नभएपछि पाण्डे फेरि दोहोरिन नचाहेको एमालेकै कतिपय नेताहरू टिप्पणी गर्छन् ।

त्यस्तै, तुलसीपुर–घोराही चारलेन सडकमा पेटी ठेकेदारका रूपमा काम गरेका पाण्डेका छोरा अनुप पाण्डे ठगी मुद्दामा १४ दिन थुनापछि हालसालै छुटेको हुँदा पनि पाण्डेको आलोचना भइरहेको छ । धेरैको बुझाइमा त्यही भएकाले केन्द्रीय सदस्य पाण्डे चुनावमा पराजित हुने त्रासकै कारण फेरि दोहोरिन नचाहेका हुन् भन्ने मत छ । तुलसीपुर उपमहानगरपालिकामा यतिखेर एमालेबाट नगर प्रमुखका रूपमा सबभन्दा बढी चर्चामा रहेको नाम टीकाराम खड्काको हो । उनी यसअघि नेकपा एमाले दाङका जिल्ला कमिटी अध्यक्ष थिए ।

तुलसीपुरमा नेपाली कांग्रेसबाट एक दर्जन बढी आकांक्षी देखिएका छन् । ती सबै नयाँ अनुहार हुन् । युवातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा व्यवसायी बिमल रिजाल, तुलसीपुर नगरसभापति सुरेश हमाल, नहकुल केसी, गोबिन्द शाह, जनकप्रसाद खराल, एकराज आचार्यले आ–आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् । त्यस्तै, अग्रज नेताहरूमध्ये यसअघिका जिल्ला सभापति कीर्तिबहादुर खड्का, त्यसअघिका जिल्ला सभापति घनश्याम रेग्मी, दाङ क्षेत्र नं. ३ का संघीय सभापति जगतबहादुर खड्कालगायतले दाबी प्रस्तुत गर्दै आएका छन् ।

सत्तासीन अन्य दलहरू माओवादी, एकीकृत समाजवादीबाट नगर प्रमुखमा खासै कसैको पनि दाबी सुनिएको छैन । गठबन्धनबाट उम्मेदवारी बनाइए माओवादीका यज्ञबहादुर केसीको उपप्रमुखमा सम्भावना हुन सक्छ । त्यस्तै, जिल्लाको लमही नगरपालिकाको हकमा भने अझै यकिन भइनसकेको एमाले जिल्ला अध्यक्ष बस्नेतले बताए । ‘लमहीमा कसलाई दिने भन्नेबारे अझै यकिन भइसकेको छैन । पुरानैलाई दिने कि नयाँ खोज्ने भन्नेबारे बहस जारी छ,’ जिल्ला अध्यक्ष बस्नेतले भने– ‘भोलिसम्म जिल्ला कमिटीमा तीनजनाको नाम सिफारिस भएर आउँछ अनि हामी त्यो प्रदेशमा पठाउँछौं र केन्द्रले मात्रै छिनोफानो गर्नेछ ।’

केन्द्रमा गठबन्धनले जे निर्णय गर्छ, दाङ त्यहीअनुरूप चल्छ : कांग्रेस सभापति डागी

आइतबार घोराहीमा पाँच दलीय गठबन्धनको बैठक बसेको छ । बैठकले चुनावी प्रतिवेदन तयार पारी केन्द्रमा पठाएको छ । जसमा गठबन्धन अनुसार साझा उम्मेदवार खडा गर्न सके जिल्लाका दशै पालिका र सबै एक सय वडाहरूमा जित्ने दाबीका साथ प्रतिवेदन तयार पारिएको छ ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुवास पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सुरामणि बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको संयुक्त बैठकले केन्द्रमा त्यस्तो प्रतिवेदन पठाएको हो ।
केन्द्रीय संयन्त्रले मागे अनुसार संयुक्त रूपमा छलफल गरी संयुक्तरूपमा यथार्थ वस्तुस्थितिको विवरण पठाइएको कांग्रेस जिल्ला सभापति डाँगीले जानकारी दिए ।

‘उम्मेदवारको हकमा केन्द्रमा पाँच दलीय गठबन्धनको रणनीति बनेपछि मात्रै दाङमा पनि त्यही अनुरूप हुन्छ,’ उनले भने– ‘अहिले हामीले उम्मेदवारको हकमा को कहाँ भनेर केही बोल्न मिल्दैन ।’ उनले दाङ कांग्रेसको उर्बर भूमि भएको दाबी गर्दै एक्लै उभिए पनि जित्ने ठाउँमा गठबन्धन भए जिल्ला क्लिन स्वीप हुने दाबी गरे । ‘त्यसमा त कुनै पनि शंका गर्ने ठाउँ कहाँनेर रहन्छ ?,’ उनले प्रश्न गरे– ‘कांग्रेस एक्लै जित्ने ठाउँमा पाँच शक्तिसँगै उभिए क्लिन स्वीप हुन्न त ?’

दाङ एमाले महासचिव शंकर पोख्रेल, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, नेपाली कांग्रेसका नेता दीपक गिरीलगायतका चर्चित अनुहारहरूको जिल्ला भएको हुँदा पनि चुनावी सरगर्मी व्यापकरूपमा बढी रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्