कनिका संवाददाता
असार ६, पर्वत
निरन्तर रुपमा भइरहेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह बढेको छ । कालीगण्डकी नदीमा पानीको सतह बढेपछि तटिय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । एक्कासी नदीमा पानीको सतह बढेपछि बस्ती कटानको खतरा बढेको भन्दै सतर्क रहन जिल्ला प्रसासन कार्यालयले अनुरोध गरेको छ ।
नदी किनारमा पर्ने जलजला गाउँपालिकाको वारीबेनी, लामाखेत, मोहनचोक, मिलनचोक, खनियाघाट, मालढुङ्गा सहित मोदीबेनीदेखि सेतीबेनीसम्म कटान र डुवानको समस्या हुन सक्ने भएकाले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । नदी किनारमा कटान बढ्दै गईरहेपनि क्षतीको कुनै विवरण आएको छैन ।
हिजो बेलुका देखि निरन्तर रुपमा ठुलो वर्षा भइरहेको छ । कालीगण्डकी नदी सहित मोदीखोला, रतीखोला, पातीखोलामा पानीको सतह बढेको छ । खहरेखोला बढेकाले ग्रामीण क्षेत्रमा सडक समेत बन्द रहेका छन् । निरन्तरतको वर्षात्का कारण उच्च स्थानमा रहेका र भिरालो ठाउँमा रहेका बस्तीमा पहिरोको समेत जोखिम बढेको प्रशासनले जनाएको छ ।
जेठ ३१ गते कुश्मा नगरपालिका ९ दुर्लुङमा पहिरो जाँदा ९ जनाको मृत्यु भएपछि अन्य ठाउँमा पनि बस्तीमाथी पहिरो जानसक्ने भएकाले समूदायलाई सचेत हुन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभएको छ ।