रुकुम हत्याकाण्डको विरोधमा झापामा सिट्ठी जुलुस – Kanika Khabar
Friday, May 16Nepali News Portal

रुकुम हत्याकाण्डको विरोधमा झापामा सिट्ठी जुलुस

    मा प्रकाशित

कनिका खबर
असार १२, झापा
रुकुम चौरजहारी हत्याकाण्डको विरोधमा हिजो झापाको धुलावारीमा सिट्ठी जुलुस गरिएको छ । धुलावारी चोकबाट सुरु भएको सिट्ठी जुलुस बजार परिक्रममा गरी विरोध सभामा परिणत भएको थियो । सभामा प्रमुख वक्ताका रुपमा लेखक तथा अध्यापक उज्जवल प्रसाईंले नेपालमा दलित र गैर दलितबिचको विभेदकारी सोच अझै पनि ब्याप्त रहेको भन्दै त्यस किसिमका सोचको अन्त्य नभई समुन्नत समाजको परिकल्पना समेत गर्न नसकिने बताए ।
दलितहरूले आफूलाई मानवीय दृष्टिकोणले हेर्न र मान्छे भएको व्यवहार गर्न आग्रह गरिरहँदा कथित उपल्लो जाती र विभेदको सोच भएकाहरू मान्छेको रुपमा प्रकट हुन जरुरी देखिएको बताए । रुकुम हत्याकाण्डबाट पाठ सिक्दै न्यायपूर्ण समाजको निर्माण र कानुनी राज्यको महसुस गराउन रुकुमका दलित युवाहरुले ज्यानको बलिदान दिएरै भएपनि मौका दिएको प्रसाईंको भनाइ थियो ।
कार्यक्रमका अर्का वक्ता मेचीनगर कार्यपालिका सदस्य एवं नेपाल राष्ट्रिय उत्पिडित बिद्यार्थी समाजका संयोजक टिकाराम मगरातीले पूर्वी किनाराबाट सुरु भएको आन्दोलन अधिकार प्राप्तीका लागि भएको भन्दै पीडितलाई न्याय दिलाएर मात्र अन्त्य हुने उद्घोष गरे । अर्का वक्ता नारायण कणरियाले मृत्यु शैयामा रगतको अभावमा छटपटाईरहेका बेला बाहुन र दलितको रगतको विभेद नदेखिने तर मन्दिर र सामाजिक गतिविधिमा दलित र गैर दलितको खोजी हुनुले नेपाली समाजको चरित्र नाङ्गिएको बताए । मुक्ति समाज झापाकी सचिव हर्कमाया विक, मेचीनगर कार्यपालिका सदस्य कृष्ण कनाल, दलित उत्थान समन्वय समिति मेचीनगर अध्यक्ष ध्रुव कनालले लगायतले कार्यक्रममा बोलेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्