चीनले सीमा मिचेको झुटो प्रतिवेदन बनाउनेहरु खोज्दै सरकार – Kanika Khabar
Friday, April 26Nepali News Portal

चीनले सीमा मिचेको झुटो प्रतिवेदन बनाउनेहरु खोज्दै सरकार

    मा प्रकाशित

कनिका संवाददाता
असार १५, काठमाडौं ।

सरकारले चीनले नेपालको सीमा अतिक्रमण गरेको झूटो प्रतिवेदन बनाउने कारखानाको खोजी भइरहेको जनाएको छ । आजको राष्ट्रिय सभाको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल चीन सीमामा कुनै समस्या नभएको बताउदै सरकारले झूटो प्रतिवेदन बनाउने कारखानको खोजी गरिरहेको बताउनुभएको हो । हालै मात्र केही सञ्चार माध्यममा कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदनलाई हवाला दिएर चीनले सात जिल्लामा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएको थियो ।

यसको कृषि मन्त्रालयले असार १० गते नै खण्डन गरेको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले चीनले सात स्थानमा नेपाली सीमा अतिक्रमण गरेको भनेर आएको समाचारको खण्डन पनि गर्नुभएको छ । उहाँले गोरखाको रुई गाउँ चीनले अतिक्रमण गरेको खबरको पनि खण्डन गर्नुभयो । उहाँका अनुसार दुई देशबीच औपचारिक सीमा निर्धारण हुनुअघि नै रुई र साना गाउँ लेकबेंसी जस्तो थियो । दुई देशले सीमा निर्धारण गरेपछि एक सय १० घर कुरियालाई कता बस्ने भनेर रोज्न दिएको बताउनुभयो । उहाँका अनुसार वि.सं. २०१६ चैत नौ गते भएको सीमा सम्झौता र २०१८ असोज १९ मा भएको सीमा सन्धिअनुसार ९८ वटा सीमा चिह्न बनेको छ । निकै विकट भएका कारण सीमा चिह्न ३७ र ३८ कोर्न सकिएको छैन । नेपाल, भारत र चीनको त्रिदेशीयबिन्दु तोक्न बाँकी छ ।

नेपाल र भारतको सीमा विवाद समाधान भएपछि त्रिदेशीय बिन्दु निर्धारण गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । दुई देशबीच भएको सहमति अनुसार नेपाल चीन सीमामा जीपीएस जडान गर्न बाँकी रहेको भन्दै उहाँले यसबाहेक नेपाल चीन सीमामा अरू कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–भारत सीमा विवाद कूटनीतिक सम्वादबाटै समाधान गर्ने बताउनुभयो । यो इतिहासले गाँठो कसेर छोडेको विषय भएको तर अहिले सम्वादबाटै समाधान हुन्छ, गर्नुपर्छ र गर्न सकिन्छ भन्नेमा सरकार प्रष्ट रहेको उहाँको भनाइ छ ।

नेपाल र भारतबीच पछिल्लो समय लिम्पयाधुरा, कालापानी र लिपुलेकमा सीमा विवाद चर्किएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्