पीसीआर परीक्षण बढाउन स्वास्थ्यमन्त्री ढकाललाई काङ्ग्रेसको ध्यानाकर्षण – Kanika Khabar
Friday, May 1Nepali News Portal

पीसीआर परीक्षण बढाउन स्वास्थ्यमन्त्री ढकाललाई काङ्ग्रेसको ध्यानाकर्षण

    मा प्रकाशित

कनिका खबर
असार १६, काठमाडौँ ।
नेपाली काङ्ग्रेसले क्वारअन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षण बढाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएको छ ।
काङ्ग्रेसले गठन गरेको कोरोना पछि उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले आज बिहान स्वास्थ्यमन्त्री ढकाललाई भेटेर क्वारअन्टिनहरू नै कोरोना फैलाउने माध्यमजस्तो बनेको भन्दै व्यवस्थित बनाउन ध्यानाकर्षण गराएको हो । क्वारअन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले व्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीहरुले सुविधा पाउन नसकेको, औषधि उपकरण खरिद प्रक्रिया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको डा. महतले जानकारी दिए ।
भेटमा स्वास्थ्य मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने गरी काम अघि बढाएको बताउनुभएको र सकेसम्म पारदर्शी हुने प्रयास गर्ने बताउनुभएको डा. महतको भनाइ छ । परीक्षण दैनिक १० हजार गर्ने गरी तयारी भएको पनि स्वास्थ्य मन्त्री ढकालले बताएका छन् । स्वास्थ्यमन्त्री ढकालको ध्यानाकर्षण गराउन डा. महतको नेतृत्वमा काङ्ग्रेस केन्द्रीय सदस्यहरू एनपी साउद, मोहन बहादुर बस्नेत, चन्द्र भण्डारी, गगन कुमार थापा र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी स्वास्थ्य मन्त्रालयमा पुगेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्