कनिका संवाददाता
असार १६, काठमाडौं
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिलेसम्म सङ्क्रमण देखिएका मध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरू रहेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्रीहरु बुझ्दै उहाँले अहिलेसम्म देशमा सङ्क्रमण भएका १३ हजार सङ्क्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदाय स्तरमा संक्रमण फेला परेको बताउनुभएको हो ।
उहाँले हिजोसम्म करिब १३ हजार सङ्क्रमितको संख्या पुगेको र त्यसमध्ये ३ हजार २ सय निको भइसकेकाले अहिले पनि कोरोना नियन्त्रणमै रहेको पनि बताउनुभयो । मन्त्री ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी ल्याबहरूको विस्तार गर्न लागेको समेत जानकारी दिनुभयो ।