शान्तिनगर गाउँपालिकाका अध्यक्षले वडा अध्यक्षलाई कारबाहीको माग गर्दै उजुरी दिए – Kanika Khabar
Friday, May 17Nepali News Portal

शान्तिनगर गाउँपालिकाका अध्यक्षले वडा अध्यक्षलाई कारबाहीको माग गर्दै उजुरी दिए

    मा प्रकाशित

दाङ, २० फागुन ।
दाङको एक गाउँपालिकाका अध्यक्षले वडा अध्यक्षलाई कारबाहीको माग गर्दै उजुरी दिएका छन् । जिल्लको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले कुर्सी उठाएर हान्न खोज्ने वडा अध्यक्षका विरुद्ध जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

वडा अध्यक्ष ओलीले गालीगलोज गर्दै कुर्सीले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई आक्रमणको प्रयास गरेपछि उजुरी दिएको बस्नेतले बताउनुभयो ।
शुक्रबार दिउँसो पालिका अध्यक्ष बस्नेतको कार्यकक्षमा प्रवेश गरेर शान्तिनगर गाउँपालिका वडा –२ का वडा अध्यक्ष सुनिल ओलीले पालिका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कालाई अपशब्द र दुव्र्यवहार गर्दै कुर्सी उठाएर हान्न खोज्दा छेक्न पुगेका अध्यक्ष बस्नेतलाई पनि वडा अध्यक्ष ओलीले आक्रमणको प्रयास गरेका थिए ।

जिल्लामा अवस्थित बौलाह खोलाको नदीजन्य बस्तुको उत्खनन आफूले भनेका व्यक्तिलाई अमानतमा दिनुपर्ने, आफ्ना ३ जना मान्छेलाई रोजगारी दिनुपर्ने माग गर्दै आएका ओलीले भने अनुसार अधिकृत खड्काले काम नगरेपछि आक्रमणको प्रयास गरेको अध्यक्ष बस्नेतले बताए । यसअघि पनि वडा अध्यक्षले पालिकाका प्रमुख प्रशासकीय अधिकृत र प्रशासन प्रमुख र अन्य कर्मचारीलाई दुर्व्यवहार गर्दै आएको बस्नेतको आरोप छ ।

यसबारे बुझ्न खोज्दा वडाध्यक्ष ओलीले घटना स्वीकार गरे।

‘मैले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षको टेबल उठाएर हान्न खोजेको हुँ,’ वडाध्यक्ष ओलीले भने, ‘मैले आक्रमण गर्न खोजेको गाउँपालिका अध्यक्षलाई हो तर त्यहाँ अधिकृत पनि बोल्न खोजेपछि मैले उहाँलाई पनि टेबल उठाएर हान्न खोजेकै हो।’

तपाईंले किन त्यस्तो गर्नुभयो त भन्ने प्रश्नमा वडाध्यक्ष ओलीले ‘खोलाजन्य वस्तुको उत्खननमा मनोमानी भएपछि आफू आक्रोशित बनेको’ जवाफ दिए।

उनका अनुसार शान्तिनगर-२ स्थित बौलाह खोलाको विष्णुपुर घाटमा बालुवा तथा ढुंगागिटी उत्खनन गर्ने जिम्मा सनराइज निर्माण सेवाले पाएको छ। उक्त कम्पनीले अहिलेसम्म झन्डै १ हजार ६ सय घनमिटर बालुवा, गिटी उत्खनन गरिसकेको गाउँपालिकाका कर्मचारी तथा पदाधिकारी बताउँछन्।

वडाध्यक्ष ओलीले भने मनलाग्दी ढंगले उत्खनन भइरहेको आरोप लगाएका छन्। ठेक्कामा एक ठाउँबाट बालुवा, गिटी उठाउने भनिए पनि आपसी मिलेमतोमा अर्कै ठाउँबाट उठाउँदै आएको उनको भनाइ छ।

‘यस्तो अनियमित काम रोक्नू भनेर धेरै समयदेखि भन्दै आएको थिएँ तर सुनुवाइ भएन,’ उनले भने, ‘बाह्र-पन्ध्र दिनदेखि त मेरो वडाबाटै उत्खनन् हुँदै आएको छ।’

गाउँपालिका अध्यक्ष बस्नेत भने यो आरोप अस्वीकार गर्छन्।

ओलीले खोलाजन्य वस्तु उठाइरहेको ठाउँमा आफ्नो एक जना व्यक्ति राखिदिनू भन्दा आफूले नमानेपछि आक्रमणको प्रयास गरेको अध्यक्ष बस्नेतले बताए।

हामीले यही प्रश्न वडाध्यक्ष ओलीलाई सोध्दा उनले नकार्न सकेनन्।

‘हो, मैले १०-१५ दिनलाई मेरो एक जना मान्छे राख्दिनुस् भनेर भनेकै हो,’ उनले भने, ‘एउटा मेरो मान्छे राखेको भए के बिग्रन्थ्यो र?’

गाउँपालिकाका अध्यक्ष बस्नेतले वडाध्यक्ष ओलीको व्यवहारबाट आफू आजित भएको पनि बताएका छन्।
आजको घटनापछि म आफैं घोराही पुगेर प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसमक्ष ठाडो उजुरी दिएको छु,’ उनले भने, ‘भोलि थप कानुनी प्रक्रियाका लागि कदम चाल्ने छु।’

प्रमुख प्रशासकीय अधिकृत खड्काले पनि प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई फोन गरेर घटनाबारे जानकारी दिएको बताए।

वडाध्यक्ष ओलीले यसअघि पनि कार्यपालिका बैठकमै आफूमाथि दुर्व्यवहार गरेको उनको आरोप छ।

‘गत असोजमा पनि उहाँले ममाथि कार्यपालि बैठकमै आक्रमण प्रयास गर्नुभएको थियो,’ उनले भने, ‘त्यतिखेर म भर्खरै सरूवा भएर आएको थिएँ। मैले शान्त बसेरै भए पनि उहाँलाई मनाएँ।’

वडाध्यक्ष ओलीले उक्त घटना पनि स्वीकार गरेका छन्।

‘मैले त्यतिखेर पनि गरेकै हो,’ उनले भने, ‘कार्यकारी अधिकृतले भएका घटनाक्रम थाहा पाउँदा वडाध्यक्षलाई सूचना नदिने कुरा स्वीकार्य हुन्छ र?’

यसअघि कर्मचारी भर्ना प्रक्रियामा गाउँपालिका अध्यक्षले मनोमानी गर्दा प्रमुख प्रशासकीय अधिकृत मौन बसेको उनले बताए।

नेपाली कांग्रेसले टिकट नदिएपछि धारा चुनाव चिन्हबाट लडेका २३ वर्षीय ओलीले १०७ मतान्तरका साथ वडाध्यक्ष जितेका हुन्।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्