५० जिल्लामा फैलियो सलह, किसानलाइ भोकमरीको डर – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

५० जिल्लामा फैलियो सलह, किसानलाइ भोकमरीको डर

    मा प्रकाशित

कनिका डेस्क
असार १७, दाङ
नेपाल प्रबेश गरेको ५ दिनमा सलह किरा नेपालका ५० ओटा जिल्लामा पुगेको छ । कृषि तथा पशुपक्षीं मन्त्रालय मातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका अनुसार अहिलेसम्म नेपालका विभिन्न ५० जिल्लामा थोरै तथा धेरै झुण्डमा गरी सलह फैलिसकेको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले वायुको गति परिवर्तन भएकाले भारतबाट नेपालमा सलहका थप झुण्ड आउँदै गरेको पनि जनाएको छ । भारतको भागलपुर तथा मोतीहारी क्षेत्रमा रहेको सलहका झुण्ड नेपाल आउन सक्ने संभावना केन्द्रले औल्याएको छ । अबको तीन दिन देशभरी सोही गतिको वायुको प्रभाव हुने मौसम विज्ञान विभागले पनि पूर्वानुमान गरेको छ ।

यो अवस्थामा भारतका सीमावर्ती क्षेत्रमा सलहका झुण्ड हावाको बहावसँगै पूर्वबाट पश्चिमतर्फ आउन सक्ने सम्भावना प्रवल रहेको केन्द्रले उल्लेख गरेको छ । सोही आधारमा सलहको झुण्ड तराई, भित्रिमधेश तथा तल्लो पहाडी क्षेत्रमा प्रबेश गर्ने संभावना रहेकाले किसानलाई सजग रहन केन्द्रले आग्रह गरेको छ । यसअघि नै नेपाल आइसकेका सलहले किसानले लगाएको खेतीमा क्षति पुर्याउन सुरु गरेको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गतको सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुबेदीले सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्याएको सीआईएनलाइ जानकारी दिनुभयो । क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन । रुपन्देहीको भैरहवा, बारा, पर्सा तथा सर्लाही, मकवानपुर र कपिलवस्तुबाट भित्रिएको सलहको समुहलाइ हटाउन किसानहरुलाइ समस्या परेको छ । सरकारले सलहको नियन्त्रणको लागि सम्पूर्ण तयारी गरिसकेको जनाएको भएपनि सलहले मकै र धान खेती नष्ट गर्न थालिसकेपछि पनि यसलाइ कसरी नियन्त्रणमा लिने भन्नेमा सरकारले अझै ठोस कदम चाल्न सकेको छैन ।

सलह मार्नका लागि दमलक तथा ड्रोनबाट बिषादी छर्कन विज्ञले सरकारलाइ सुझाब दिएका छन् । तर बिषादी छर्कने बिषय पनि अफ्ठेरो भएको सुबेदी बताउँनुहुन्छ । ठूलो समुहमा बिषादी छर्कन सकिन्छ, तर बिषादी नजिक बस्ती नरहेको स्थानमा मात्रै छर्न सकिन्छ, उहाँले भन्नुभयो सलहलाइ नियन्त्रण गर्न खोज्दा उल्टै मानब बस्तीमा जोखिम हुन सक्ने तिर पनि ध्यान दिनुपर्ने हुन्छ । सानो समुहमा रहेको सलहलाइ कुनै उपाएले उडाने वा समाउने गर्नु नै उत्तम देखिएको छ । जथाभावी बिषादी छर्दा मानब स्वास्थ्यमा असर पर्न सक्छ र पाक्न लागेको तरकारी तथा अन्न बालीमा बिषादी छर्दा झनै समस्या हुन सक्ने पनि बिज्ञहरुले बताएका छन् । काठमाडौंको टोखा नगरपालिका सहित देशका बिभिन्न स्थानमा फैलिएको सलह नियन्त्रणको लागि स्थानीय सरकारले आ आफ्नो किसिमले तयारी र सर्तकता अपनाउन नागरिकलाइ आग्रह गरिरहेका छन् ।

खेतबारीमा थाल, टिन, मादल बजाउने, ठूलो आवाज आवाज निस्कने साधन बजाउने, आगो बालेर धुवाँ निकाल्ने, खेतको दुई छेउमा बसेर डोरी हल्लाउने जस्ता काम गरेर पनि सलहलाइ भगाउन सकिने भएकाले नागरिकले यसै गरिरहेका छन् । सलह बढी प्रोटिनयुक्त हुने भएकाले जाल वा पासोको प्रयोग गरी वा हातले टिपी हाँस तथा कुखुराको दानाको रुपमा प्रयोग गर्न पनि सकिने भएकाले स्थानीय तथा प्रदेश सरकारले सलह नियन्त्रण गरेर ल्याउनेलाइ रकम दिने घोषणा पनि गरेका छन् । तर लाखौको सङ्ख्यामा रहेको सलह किरालाइ समाएर नष्ट गर्न संभव नहुने भएकाले यसको नियन्त्रणको लागि भरपर्दो बिकल्प छानेर प्रयोगमा ल्याउन सरकारलाइ किसानहरुले माग गरेका छन् । फौजी किराले मकै नष्ट गरेपछि यसैपनि चिन्तामा रहेका किसान सलहले बाली सखाप पार्न थालेपछि भोकमरी आउँछ कि भन्ने चिन्तामा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्