आजदेखि एसईई परीक्षा सुरू – Kanika Khabar
Saturday, May 4Nepali News Portal

आजदेखि एसईई परीक्षा सुरू

    मा प्रकाशित

दाङ, १७ चैत

फलामे साङ्लोका रूपमा लगिएको एसएलसी परीक्षालाई पछिल्ला केही वर्षदेखि एसइई बनाइएपछि एसएलसी परीक्षा अब फलामे साङ्लो रहेन । एसएलसी एसइईमा रूपान्तरित भएपछि एसइई परीक्षा नर्मल कक्षा उत्तीर्णकै कोष बनेको छ । यद्यपि, यो परीक्षालाई पनि संघीय सरकारले स्वामित्व प्रदेश सरकारलाई छाड्न नसकेपछि सामान्य चर्चामा भने आएको छ ।

एसइई परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षाको सुरक्षा व्यवस्थापनलगायत अन्य व्यवस्थापकीय तयारी पूरा भइसकेको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ । सुरक्षा प्रबन्ध र अनुगमनको समेत अन्तिम तयारी भइसकेको पनि इकाईले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा दाङबाट करिब साढे १३ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।

जिल्लामा ग्रेड वृद्धि सहित सामुदायिक र संस्थागत विद्यालयबाट १३ हजार ४ सय ५२ जना परीक्षार्थी एसइई परीक्षामा सहभागी हुन लागेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दाङले जनाएको छ । गत वर्षको तुलनामा करिब तीन सय जना बढी परीक्षार्थी परीक्षामा सहभागी हुन लागेका छन् । गत वर्ष जिल्लामा १३ हजार एक सय ५१ जना परीक्षाथी एसइई परीक्षामा सहभागी भएका थिए ।

‘दुई सुरक्षा घेरा रहने छन्, एउटा केन्द्रमा बढीमा १५ जनासम्म नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालित हुनेछन्, थप सुरक्षा बाहिरबाट सशस्त्र प्रहरीले आवश्यकताअनुसार दिने छ’, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले भने । सबै सुरक्षाकर्मीहरूलाई परीक्षा केन्द्रमा खटाइ सकिएको पनि उनले जानकारी दिए । प्रश्न–पत्रहरू नजिकको प्रहरी चौकीमा पुगिसकेको पनि उनले बताएका छन् । परीक्षालाई मर्यादित बनाउन कुनै पनि आवान्छित गतिविधि हुन नदिन सुरक्षाका लागि अनुगमन टिमलगायत घुम्ती सुरक्षा टोली समेत रहेको प्रहरी प्रमुख वलीले जानकारी दिएका छन् ।

दाङबाट परीक्षामा ७ हजार १ सय ६ जना छात्रा र ६ हजार ७ सय ४६ जना छात्र सहभागी हुन लागेका छन् । छात्रभन्दा छात्राको संख्या धेरै रहेको छ । परीक्षामा साधारण धारतर्फ ६ हजार ७ सय ६६ छात्रा रहेका छन् भने प्राविधिक धारतर्फ ३ सय ४० जना परीक्षार्थीले परीक्षा दिन लागेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख देवमणि चौधरीले जानकारी दिएका छन् ।

प्रमुख चौधरीकाअनुसार ग्रेड वृद्धितर्फ १ सय ७४ जना छात्रा र १ सय १० जना छात्र गरी २ सय ८४ जना परीक्षार्थीले परीक्षा दिन लागेका छन् । परीक्षामा जिल्लाका १० वटा पालिकाका २ सय ३६ विद्यालयबाट परीक्षार्थी सहभागी हुन लागेका छन् । जसमा सबैभन्दा धेरै परीक्षार्थी तुलसीपुर उपमहानगरपालिकाबाट एसइई परीक्षामा सहभागी हुन लागेका छन् ।

विगतका वर्षहरूमा प्राविधिक धारतर्फका परीक्षार्थीलाई जिल्ला सदरमुकाममा गएर परीक्षा दिनुपर्ने बाध्यता भए पनि यस वर्षबाट यो समस्या हटाइएको छ । यस पटक जुन विद्यालयमा प्राविधिक धारको पढाइ हुने गरेको छ त्यही विद्यालयका साधारण धारतर्फका परीक्षार्थी सरह नै एकै परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको प्रमुख चौधरीले बताएका छन् । ‘प्राविधिक धारतर्फका परीक्षार्थीहरूलाई अघिल्लो वर्षसम्म पर्ने समस्यालाई यस पटक हटाएका छौँ ।

अब प्राविधिक धारतर्फका परीक्षार्थीहरू परीक्षा दिनका लागि सदरमुकामको केन्द्रमा आउनुपर्ने बाध्यता हटेको छ’, प्रमुख चौधरीले भने, ‘सम्बन्धित विद्यालयका साधारण धारतर्फका विद्यार्थीहरूले जुन परीक्षा केन्द्रबाट परीक्षा दिन्छन्, प्राविधिक धारतर्फका विद्यार्थीहरूले पनि त्यही परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएका छौँ ।’ केन्द्रको निर्देशनअनुसार जिल्लामा पनि व्यवस्था गरिएको उनले बताए ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख चौधरीकाअनुसार यस वर्ष जिल्लाभर ४५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५ सय ७७ जनाले आवेदन फाराम भरेका छन् । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइ सकिएको जानकारी दिए ।

एसइईमा सबैभन्दा कमजोर नतिजा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयको रहने गरेको छ । त्यसबाहेक अनिवार्य नेपाली र सामाजिक शिक्षाको नतिजा पनि कमजोर नै मानिन्छ । अङ्ग्रेजी र गणितका लागि बिदा भए पनि विज्ञानका लागि परीक्षाको अघिल्लो दिन बिदा नहुँदा त्यसले नतिजामा असर पर्न गएको ठम्याइ राष्ट्रिय परीक्षा बोर्डको छ ।

जिल्ला शिक्षा समन्वय इकाईकाअनुसार परीक्षा सञ्चालनमा खटिने जनशक्ति विवरणअनुसार केन्द्राध्यक्ष ४५, सहायक केन्द्राध्यक्ष ९१, निरीक्षक ६ सय ९३, सहायक कर्मचारी १ सय ३३, सहयोगी कर्मचारी २ सय ७९ गरी जम्मा १ हजार २ सय ४१ जना र सुरक्षा कमी प्रतिकेन्द्र १० देखि १५ जना रहेका छन् । यसैगरी अनुगमनकर्तामा माध्यमिक परीक्षा समन्वय समितिका पदाधिकारीहरू, शिक्षा विकास तथा समन्वय इकाईले तोकिएका कार्यालय÷संस्थाका कर्मचारी वा पदाधिकारी स्थानीय तहका रहने भएका छन् ।

यस्तै सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी कर्मचारी छनोटसम्बन्धी अपनाइएको नीतिगत प्रक्रियाको आधारमा गर्ने व्यवस्था मिलाउन भनिएको छ । सम्बन्धित केन्द्रमा परीक्षा दिइरहेका परीक्षार्थीहरूले अध्ययन गरेका विद्यालयका कुनै पनि प्रअ, शिक्षक र कर्मचारीलाई उक्त केन्द्रमा परीक्षा सञ्चालनको क्रममा संलग्न नगराउन भनिएको छ ।

सकेसम्म परीक्षा केन्द्र रहेका विद्यालयका शिक्षक र कर्मचारीलाई उपयोग गरी परीक्षा सञ्चालन गर्ने तथा सुरक्षाकर्मीको सहयोगमा परीक्षा हलमा प्रवेश गर्नुपूर्व परीक्षार्थीको खानतलासी गरेर मात्र परीक्षा हलमा प्रवेश गराउने व्यवस्था गर्ने भनिएको छ । परीक्षा सञ्चालनको क्रममा खटिएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीको लागि अनिवार्य रूपमा परिचयपत्रको व्यवस्था गर्ने, परीक्षा केन्द्रमा प्रवेशका लागि आधिकारिक निकायबाट अनुमति प्राप्त गरेका पदाधिकारी बाहेक कुनै पनि व्यक्तिलाई परीक्षा केन्द्रमा प्रवेश गर्न नदिने पनि उल्लेख छ ।

यस्तै परीक्षा सञ्चालन हुनुभन्दा कम्तिमा १ दिन अगावै स्थानीय अभिभावक र परीक्षा सञ्चालनका लागि खटिएका शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको बीचमा अन्तत्र्रिmया गरेर सबैसँग सहयोग, समन्वय र सहकार्यका लागि उपयुक्त वातावरणको सिर्जना गर्न, केन्द्र व्यवस्थापन समिति गठन गरी परीक्षालाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउन तथा परीक्षा केन्द्रमा विद्यार्थीको सिट प्लान गर्दा एउटा कोठामा विभिन्न विद्यालयका विद्यार्थी पर्ने गरी गर्न निर्देशन दिइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्