दाङ, १९ वैशाख।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् ।
आज मङ्गलबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन ।
‘प्रदेशसभा नियमावली २०७९ को नियम १४५’ अनुसार उनले विश्वासको मत लिनेसम्बन्धी पत्र गत आइतबार प्रदेशसभामा दर्ता गराएका थिए ।
सभामुख तुलाराम घर्तीले सो पत्र दर्ता भएको ४८ घण्टा पछि प्रदेशसभा बैठक आव्हान गरेका छन् ।
गत शुक्रवार मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सन्तोष पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्री नियुक्ति गर्दै पद तथा गोपनीयताको शपथ लिएका थिए । नवनियुक्त मन्त्रीहरूलाई जिम्मेवारी भने तोकिएको छैन।
विश्वासको मत लिए पछि मुख्यमन्त्री चौधरीले तीनै जना मन्त्रीको जिम्मेवारी तोक्ने र नयाँ मन्त्री नियुक्त गर्ने योजना बनाएका छन् ।


