कनिका खबर
असार २०, दाङ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बैठक बस्नुभन्दा अघि दुई अध्यक्षबीच छलफल हुनेछ । पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधानका लागि हिजो प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ४ घण्टा लामो छलफल भएको थियो । तर छलफलमा दुबैजना आआफ्नो अडान नछोडेपछि सहमति हुन सकेन । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा समेत सहभागी थिए ।
हिजोको छलफल सकारात्मक भए पनि निर्णय भने नभएको नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । हिजो सहमति हुन नसकेपछि आज बिहान ११ बजेदेखि बस्ने स्थायी कमिटी बैठक अघि पुनः दुई अध्यक्ष बीचमा छलफल हुन लागेको हो । पार्टी भित्रको अन्तरविरोध जटिल बन्दै गएपछि सहमतिका लागि दोस्रो पुस्ताका नेताहरूले पनि सक्रियता देखाएका छन् ।
हिजो अध्यक्ष तथा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका नेता पनि बिहान एकै ठाउँमा भेला भएर शीर्ष नेतालाई विवाद चर्किने खालका गतिविधि नगर्न खबरदारी गर्ने निर्णय गरेका थिए । आजको स्थायी कमिटी बैठक निर्णायक भनिएको छ । त्यसअघि नै सहमति जुटाउन नेताहरू लागि परेका छन् । गएको आइतबार प्रधानमन्त्री ओलीले दिएको विवादास्पद अभिव्यक्तिपछि साथी कमिटीको बैठक अन्य मुद्दा छोडेर प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्फ केन्द्रित भएको छ ।