कनिका खबर
असार २१, दाङ ।
आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ ।
गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघ–संस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेको भए पनि यस वर्ष कोभिड १९ का कारण शिक्षालय बन्द रहेकाले सम्भव रहेको छैन ।
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् ।