गोविन्द खड्का
घोराही । बिम ढलाइ गर्न तयारी भएको बालविकास माध्यमिक विद्यालय घोराही–१४ को भवन विवादमा परेको छ ।
पिलर ढलाइ गर्न उठाएको सरिया हेर्न घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, उपमेयर हुमा डिसी, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, भौतिक पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेललगायतका अधिकारीले अनुगमन गरे पनि काम अघि बढेको छैन । ‘यसको स्टिमेट, सम्झौता सबै घोराही उपमहानगरपालिकाबाट भएको हो’– विद्यालयका प्रधानाध्यापक श्रीधर पोख्रेलले भन्नुभयो– ‘निर्माण सम्बन्धी कामको बारेमा हामीलाई केही जिम्मा दिएको छैन ।’ उहाँका अनुसार शुक्रबार बिहान बैठक बोलाउने भनिएको छ, सबैकुरा त्यहीं हुन्छ ।’
‘सरिया थोरै र मापदण्ड भन्दा कमको हालिएको छ । यस्तो कमजोर भवन बनाउन दिदैनौं भनेर रोक्न खोज्दा मानेन’– विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी बुढाले भन्नुभयो– ‘पटक पटक भन्दा पनि नमानेपछि हामी उपमहानगरपालिकामै पुग्यौं ।’ स्टिमेट भन्दा बाहिर काम गरेर जटिल समस्या निम्त्याएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शक्तिराम डाँगीको भनाइ छ । ‘बिगारेको जति नभत्काए कानुनी उपचार खोज्छौं’– उहाँँले थप्नुभयो– ‘कमजोर भवन बनाएर गरिबका बच्चा मार्न पाइँदैन ।’ उहाँका अनुसार जगै कमजोर बनाइएको छ । अहिले बनाएको सबै हटाएर स्टिमेट अनुसारको भवन निर्माण गर्नुपर्छ । त्यो भवन बनाउने जिम्मा राना ब्रदर्श एण्ड कम्पनीले लिएको थियो ।
त्यस मार्फत लेवर मिस्त्रीसहित निर्माणको काम लिलाबहादुर पुनले गर्दै आउनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका सल्लाहकारसमेत रहनुभएका पुनले कमजोरी भएको स्वीकार गर्नुभयो । ‘इन्जिनियरले १० वटा सरिया हाल भन्ने ठेकेदारले चारवटा मात्रै हाल भन्ने मैले के गर्ने ? ’– उहाँले भन्नुभयो– ‘मलाई फसाइयो ।’ उहाँका अनुसार हात्तीपाइलेसम्म ठीक काम भएको छ । त्यस बाहेकका अरु ढलान भत्काउनुपर्छ । यसैगरी मुख्य ठेकेदार रानाले पनि सरिया कम हालेको स्वीकार्नुभएको छ । ‘बिग्रेको नभत्काएर काम अघि बढ्दैन’– रानाले भन्नुभयो– ‘मलाई यस्तो परेको फष्ट टाइम हो । मैले भन्या जस्तो काम गरेनन् ।’ उहाँका अनुसार सरिया कम हालिएको छ । त्यो सबै उप्काएर प्राविधिकले भने बमोजिमका मजबुत भवन बनाउने हो ।
‘ठेकेदारले आफ्नै ढाँचाले ढलान गरेको रहेछ, अब त्यो तोडेर बनाउने हो’– घोराही उपमहानगरपालिकाका भौतिक पूर्वाधार महाशाखा प्रमुख डिइ पौडेलले भन्नुभयो– ‘असार २० गते सम्म जति गर्छ उतिको भुक्तानी पाउँछ, बदमासी गरेको उसैले व्यहोर्छ ।’ उहाँका अनुसार राष्ट्रपति शैक्षिक सुधारको ४५ लाख र घोराही उपमहानगरपालिकाको ५० लाख गरी ९५ लाख बजेट छ । उपभोक्ता मार्फत गर्न नमिल्ने ठूलो रकम भएकाले ठेक्का प्रक्रियामा गएको हो । त्यस फिल्डमा खटिएका प्राविधिकले इमान्दारिताका साथ काम गर्नुभएको छ । ठेकेदारले बिगारेको हो । इन्जिनियरलाई नटेरेर मापदण्ड विपरीतको भवन बनाउन खोजियो । गुनासो आउने बित्तिकै विद्यालयमा पुग्नुभएका उपमेयर डिसी भवन देखेर आक्रोशित हुनुभएको थियो । ‘मलाई त कत्ति चित्त बुझेन, भत्काउन खोजको थिएँ, सकिएन’– उहाँले भन्नुभयो– ‘पालिकाको सबै पुगेका छौं कसैलाई चित्त बुझेको छैन । मापदण्ड पुगेको छैन । त्यो नभत्काएर काम अघि बढ्दैन ।’ आर्थिक वर्ष सकिन केही दिन बाँकी हुँदा भवन निर्माणको काम विवादमा फसेको छ ।


