ओली–दाहालबीच सहमति नभएपछि भोलि फेरि बस्ने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

ओली–दाहालबीच सहमति नभएपछि भोलि फेरि बस्ने

    मा प्रकाशित

कनिका संवाददाता
असार २१, काठमाडौं
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो भएको छलफलमा कुनै सहमति जुट्न सकेन । आफू निकट नेतासहित छलफलमा बस्नुभएका ओली र दाहालले भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठक पहिले फेरि दुवैजना बस्ने निर्णय गरेको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले जानकारी दिनुभयो ।

दुवै नेताबीच विवादित विषयमा छलफल भएको तर कुनै निर्णय भने ननिस्किएको उहाँले बताउनुभयो । दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावनाबारे छलफल गर्न सहमति भएको बताइएको छ । दुवैबीच राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भइरहेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल भएको छलफलमा सहभागी अर्का एक नेताले बताएका छन् ।

अध्यक्ष दाहालले आफू निकट नेताबीच राष्ट्रपतिबारे त्यस्तो छलफल नभएको बताउनुभएको ती नेताले बताउनुभयो । उहाँका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई केही कुरा नचलेको विषयमा र तयारी पनि नरहेको विषयमा कसरी कुरा आयो भनेर सोध्नुभएको थियो । पार्टी भित्रको मतभेदमा राष्ट्रपतिलाई मुछ्न नहुनेबारे अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको थियो । त्यस्तै, सडकमा भइरहेका गतिविधिले पार्टी एकता कमजोर बनाउने भन्दै त्यस्ता गतिविधि रोक्ने विषयमा दुवैबीच छलफल भएको सहभागी नेताले बताएका छन् ।

बालुवाटारमा भएको छलफलमा सचिवालय सदस्य समेत रहनुभएका उपप्रधान एवम रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटि सदस्य एवम उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, स्थायी कमिटि सदस्य एवम प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेल र स्थायी कमिटि सदस्य जनार्दशन शर्मा सहभागी थिए । नेकपाले स्थायी कमिटी बैठक भोलिका लागि बोलाएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्