किसानको मेलोमा कृषिका विद्यार्थी – Kanika Khabar
Sunday, May 19Nepali News Portal

किसानको मेलोमा कृषिका विद्यार्थी

    मा प्रकाशित

१५ असार, दाङ।

बिहानभरी ओसिएको आकाश विस्तारै खुल्दै थियो । पानीका बाछिटा पातलिदै जाँदा तुलसीपुर १८ बकुलाईका जितबहादुर चौधरीको खेतमा विद्यार्थीहरु बाक्लिदै गएका थिए । अघिल्लो दिन नै रोपाईमा सघाउन र धान दिवस मनाउनका लागि उनलाई सूचना गरिएको थियो ।

तुलसीपुर बहुप्राविधिक शिक्षालयमा कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरुले उनको खेत भरिएको थियो । रोप्नका लागि ठिक्क पारिएको खेतमा विद्यार्थीहरु मेलो सार्न पसेपछि जितबहादुर निकै खुसी देखिन्थे । तुलसीपुर उपमहानगरपालिका कृषि शाखा र तुलसीपुर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको किसानसँग कृषिका विद्यार्थी कार्यक्रममा विद्यार्थीहरु असार १५ को मेसो पारेर खेतमा पुगेका हुन् ।

आफुले किताबमा पढेको कुरा किसानलाई बाँडेको र किसानबाट व्यवहारिक ज्ञान हासिल गरेको विद्यार्थी सन्दीप मल्लले बताए । उनले कृषि पढ्ने विद्यार्थीहरुले माटोलाई चिन्न सक्नुपर्ने समेत बताए । हिलाम्य भएर रोपाइ गरिरहेकी अर्की विद्यार्थी स्पन्दन भुषालले माटोमै टेकेर व्यवहारिक ढँगले पढ्न पाउँदा खुसी भएको बताईन् ।

‘हामीले कक्षामा हरेक दिन पढिरहेका हुन्छौ तर यसरी खेतमै आएर माटो टेक्दै पढ्न पाउँदा धेरै कुरा सिकेको महसुस भएको छ’ भुषालले भनिन् । उनले शहरमा रोपाइ संस्कृति हराउँदै गएकोमा चिन्ता समेत व्यक्त गरिन् ।

विद्यार्थीलाई मेलो सार्नका लागि प्रेरित गर्न नगरप्रमुख टिकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, अर्थ समिति सभापति माधव वली, शिक्षालय प्रमुख वसन्त आचार्य पनि हातभरी ब्याड बोकेर खेतमा पसेका थिए । ‘माटोलाई प्रेम गर्नेले कहिल्यै पनि दुख पाउँदैन’ नगरप्रमुख टिकाराम खड्काले बताए । उनले खेति किसानी गर्ने क्रम बढ्दै जाँदा कृषिप्रधान देश पनि कृषिमा आत्मनिर्भर हुन नसकेको दुख व्यक्त गरे । ‘अब कृषि पढेर आधुनिक कृषि गर्नमा विद्यार्थीहरुले ध्यान दिनुपर्दछ’ उनले उत्प्रेरित गरे ।

धानमा नेपाललाई आत्मनिर्भर बनाउन आवश्यक रहेको अर्थ समिति सभापति माधव वलीले बताए । आधुनिक कृषि प्रणाली मार्फत उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । कृषि विकास शाखामा शंकर न्यौपानेले रैथाने बाली संरक्षणमा ध्यान दिन आवश्यक भएको बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्